- जेम्स क्लेटन/ उत्तर अमेरिका प्रविधि संवाददाता

काठमाण्डौ । ज्याक डोर्सी प्रविधि संसारका एक लहडी व्यक्ति हुन्। उनी चलचित्रका एक चरित्र भएका भए धेरै देखेजस्तो पात्र हुन्थे।

एकदमै इमानदार र आदर्शवादी, डोर्सी प्रविधिले विश्व शान्ति र समृद्धि ल्याउन सक्छ भन्ने कुरा विश्वास गर्छन्। उनी हिप्पी स्वतन्त्रतावादी जस्तै छन् जसको जीवन दर्शन कहिलेकाहीँ अनौठो देखिन्छ। तर डोर्सी प्रविधिको क्षेत्रमा दूरदर्शी व्यक्तित्व पनि हुन्।

उनले हालै ट्विटरको प्रमुख कार्यकारी पदबाट दोस्रो पटक राजीनामा दिएका छन्। पहिलो पटक आफूले स्थापना गरेको सामाजिक सञ्जाल छोड्दा उनले सन् २००१ मा एकदमै सफल विद्युतीय भुक्तानी माध्यम स्क्वायर स्थापना गरेका थिए। ट्विटरमा उनी सन् २०१५ मा फिर्ता आए।

गत सोमवारसम्म उनी दुवै कम्पनीका प्रमुख कार्यकारी थिए जुन कुरा उनका धेरै लगानीकर्तालाई मन परेको थिएन। गत वर्ष ट्विटरमा ठूलो लगानी रहेको एलिअट म्यानेजमेन्टले उनलाई दुई पदमध्ये एक रोज्न दबाव दिएको थियो। उनीहरू ट्विटरका लागि मात्रै समय दिने प्रमुख कार्यकारी खोजेका थिए। यही कुराले ट्विटरबाट उनले राजीनामा दिँदा पनि कम्पनीको शेअर मूल्य धेरै ओरालो नलागेको बताइन्छ।

लगानीकर्ताहरूले लामो समयदेखि ट्विटरले आफ्नो विशाल सङ्ख्याको प्रयोगकर्ताका कारण कमाउन सक्ने पैसाप्रति ध्यान नदिएको सोच राखिरहेका थिए। र त्यसका लागि ट्विटरलाई मात्रै प्राथमिकतामा राख्ने प्रमुख कार्यकारी उपयोगी हुन सक्छन्।

गुगल र फेसबुकको तुलनामा ट्विटर धेरै सानो खेलाडी हो। डोर्सीका कारण नै ट्विटरले पैसा कमाउन नसकेको धेरैको मत थियो। ट्विटर निर्माणमा योगदान गरेका डोर्सीले प्रयोगकर्तालाई नराम्रो अनुभव दिएर अर्थ सङ्कलन गर्ने सोचेका थिएनन्। उनले नाफा कमाउने केही परीक्षणहरू भने गरेका थिए। उनले सन् २०२३ को अन्त्यसम्म ३१ करोड ५० लाख अमेरिकी डलर कमाउने लक्ष्य राखेका थिए।
ट्विटरले महामारीमा थुप्रै प्रयोगकर्ता थपे पनि त्यो लक्ष्य सहज लाग्दैन।

अब त्यो लक्ष्य नवनियुक्त प्रमुख कार्यकारी पराग अग्रवालको हुनेछ। भारतमा जन्मिएका अग्रवालले तल्लो तहमा सुरु गरेर प्रतिस्पर्धी र सम्मानित प्रमुख प्रविधि अधिकृतको पदमा पुगेका थिए। उनलाई जोखिम नलिने सुरक्षित व्यक्ति मानिएको छ र उनको अगाडि ठूलो लक्ष्य छ। ट्विटर फेसबुक होइन र योसँग प्रयोगकर्ताको तुलनात्मक रूपमा निकै कम जानकारी छ। त्यसैले ती जानकारी विज्ञापनदाताका लागि धेरै उपयोगी हुन्न।

डोर्सी क्रिप्टोकरेन्सी विशेषगरी बिटकोइनको मोहमा परेका छन्। उनले हालै क्रिप्टो टोली नै बनाएका छन् जसले कम्पनीले कसरी डिजिटल सम्पत्तिमा काम गर्न सक्छ भनेर कार्य गरिरहेको छ। त्यो टोली अग्रवालकै नेतृत्वमा राखेका थिए त्यसैले नयाँ कार्यकारी प्रमुखको नेतृत्वमा ट्विटरले क्रिप्टोकरेन्सीको प्रयोगलाई प्राथमिकता दिन सक्ने अनुमान गरिएको छ। तर ट्विटर अमेरिकामा राजनीतिक बनेको छ र अग्रवालका अगाडि त्यो चुनौती पनि छ।

डेमोक्र्याट्सहरूले ट्विटरले मिथ्या सूचना नफैलाउन यथेष्ट कार्य नगरेको मान्छन्। उनीहरू घृणायुक्त अभिव्यक्ति हटाउनका लागि पनि प्रभावकारी प्रणाली नभएको मान्छन्। रिपब्लिकनहरू भने ट्विटर आफ्नो विचारधाराप्रति पूर्वाग्रही रहेको मान्छन्। यसको उदाहरण डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाइएको घटनालाई मान्छन्।
अग्रवाल एकै दिनमा थोरै चिनिएका व्यक्तिबाट चर्चित व्यक्तित्व बनेका छन् र उनले ढिलो चाँडो अमेरिकी संसद्मा सांसदहरू प्रश्नको उत्तर दिनुपर्नेछ।

सन् २०१० मा उनले लेखेको एक ट्विट देखाउँदै उनको आलोचना सुरु भइसकेको छ। डोर्सीले लेखेको राजीनापछि लेखेको इमेलमा आफूले स्थापना गरेको संस्थामा लामो समयसम्म संस्थापक रहने कुराबारे चर्चा गरेका छन्। "संस्थापक-नेतृत्वमा कम्पनी रहनुपर्नेबारे धेरै कुरा भएको छ। मलाई लाग्छ यो कुराले सीमितता ल्याउँछ र असफलताको प्रमुख कारण हो," उनले लेखेका छन्।

उनले फेसबुकका मार्क जकरबर्गलाई लक्षित गरेको मानिएको छ किनभने टेस्लाका इलोन मस्कले आफूलाई त्यहाँ रहन रहर नलागेको सार्वजनिक रूपमा भन्दै आएका छन्। बिल गेट्स, जेफ बेजोस, सेर्गे ब्रिन, ल्यारी पेज र स्टिभ जब्सजस्ता सनकी संस्थापकले स्थापना गरेका सफल प्रविधि कम्पनीहरू सबैले अहिले यस्ता प्रमुख कार्यकारी छन् जसले कम्पनीलाई सुरक्षित राख्छन्।

ट्विटरलाई पनि सायद त्यस्तै चाहिएको छ। ४५ वर्षीय डोर्सी भने अझै युवा नै छन्। अघिल्लो पटक ट्विटर छोडेपछि उनले ख्याल ख्यालमै स्क्वायर बनाए जुन अहिले एक खर्ब अमेरिकी डलर बराबरको कम्पनी बनेको छ। डोर्सी कतिपय अवस्थामा हास्यास्पद देखिन सक्छन् तर उनले आफूलाई गम्भीरतापूर्वक लिनुपर्ने अधिकार प्राप्त गर्न यथेष्ट कार्य गरिसकेका छन्। - बीबीसीबाट