काठमाण्डौ । नेपाल प्रहरीका २५ वटा कार्यालयका उपयुक्त स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिने भएको छ। 

नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी भएको हो। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

यो समझदारीसँगै अब प्रहरी कल्याण कोषद्वारा सञ्चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयका अन्य उपयुक्त स्थान गरी २५ ठाउँमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालन गरिनेछ। 

प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्नेछ। उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्नेछ। 

प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउनेछ। निर्माणपछि ती चार्जिङ स्टेसन प्रहरी कल्याण कोषमातहत सञ्चालन हुने समझदारी बनेको छ।

चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेछ। सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्नेछ। 

विद्युत वितरण विनियमावलीको व्यवस्थाबमोजिम विद्युत महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा प्रहरीको कल्याण महाशाखाले पाउनेछ।

प्राधिकरणले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरि ५१ स्थानमा छिट्टै चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। निर्माणाधीन हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन विलिङ प्रणालीको जडान गरिनेछ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन्। यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ। 

सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न नेपाल प्रहरीसँग सम्झौता हुनु कोशेढुंगा साबित भएको बताए। उनका अनुसार चार्जिङ स्टेसनका उपकरण तथा पूर्वाधार निर्माणका लागि करिब १ करोड रुपैयाँ लाग्छ। 

विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महसुलमा पनि विशेष सहुलियत दर औसतमा प्रतियुनिट करिब ५ रुपैयाँमा तोकिएको छ। विद्युतबाट चल्ने गाडीको प्रतिकिलोमिटर करिब ६० पैसादेखि १ रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ। 

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारीसाधनको प्रयोग गरी मुलुकभित्र उत्पादित विद्युत खपतका लागि चार्जिङ स्टेसन स्थापनाको प्राधिकरणसँग सम्झौता हुनु ऐतिहासिक भएको बताए।