काठमाण्डौ । प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

तीनवटै वित्तीय संस्थाले भोलि सोमबार (पुस १४ गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछन्। साधारणसभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुन आज आइतबारसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

प्राइम कमर्सियल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा पुस २५ गते राष्ट्रिय सभागृहमा गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

सभामा प्राइमले कैलाशलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष अजेन्डाहरु पारित गर्नेछ।

सभामा प्राइमले कैलाशलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ता एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सले तयार गरेको कैलाको चल/अचल सम्पत्ति तथा दायित्व मूल्यांक प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको कैलाको सेयरको सेयर स्वाप अनुपात पारित गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी प्राइमले कैलाश प्राप्ति गर्ने सम्बन्धमा गरिएको अन्तिम सहमति/सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

त्यस्तै युनाइटेड फाइनान्सको २५ औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौको बबरमहलस्थित कार्की बैंक्वेटमा हुँदैछ । 

सभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट संस्थाले आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १०.५२ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले हाल कायम चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार १०० रुपैयाँको ७.५२ प्रतिशतले हुन आउने ७ करोड ६० लाख ५४ हजार ८५६.६२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशतले हुन आउने ३ करोड ३ लाख १५ हजार ५७२.२२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी बोनस सेयर जारी भएपछि संस्थाको अधिकृत पुँजी,जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले पुँजी वृद्धिलगायतका विषयहरु समावेश गरी सस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा गाभिने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्प्रिदान गर्ने प्रस्ताव पनि पारित हुनेछ । गाभ्ने तथा प्राप्तिसम्बन्धी हस्ताक्षर गर्ने, मूल्यांकनकर्ता नियुक्ति गर्नेजस्ता सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

यसैगरी जानकी फाइनान्सको २३ औँ वार्षिक साधारणसभा पुस २४ गते धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा हुँदैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको कुल २३.१६ प्रतिशत लाभांश पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी २२ प्रतिशतले हुन आउने १० करोड ८२ लाख ७० हजार ८६६ रुपैयाँबराबरको बोनस सेयर र १.१६ प्रतिशतले हुन आउने ५१ लाख ९८ हजार ४६७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको आवश्यक वैदेशिक रणनीति साझेदारीमा जानका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौत गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैगरी बोनस सेयर जारी गरेपछि वृद्धि हुने चुक्तापुँजीपछि संस्थाको प्रबन्धपत्र र निममावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।