काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ।

सम्झौतापत्रमा प्राइम लाइफण्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। प्राइम लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबीभुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डोर भुक्तानीलगायत लगानी ट्रान्सफरसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ। साथै, प्राइम लाइफका बीमितहरुले आफ्नो बीमा शुल्क (प्रिमियम) पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५ हजारभन्दा बढी बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन्। यी सबै कारोबार सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्। 

सन् २००७ जुनमा लक्ष्मी बैंकका साथै विभिन्न प्रतिष्ठित व्यावसायिक समूहहरुद्वारा स्थापना गरिएको प्राइम लाइफले इन्स्योरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भइसकेको छ। कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो। यसका एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली सञ्चालनमा रहेका छन्। जसमा सबैजसो बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन्।