काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर स्वीकृत गर्नेछ । बोनस सेयर जारी गरेपछि बैंकको जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन हुनेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग आपसमा मर्ज हुने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गरी आपसमा मर्ज वा प्राप्ति गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।