काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरको श्री खाट मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ३५० जनाभन्दा बढी बालबालिकालाई स्कुल ब्याग वितरण गरी भवन निर्माणका लागि रु. ३ लाख आर्थिक सहयोग गरेको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच स्कुलमा आयोजित कार्यक्रममा कम्पनीले विद्यालयलाई विद्यार्थीलाई स्कुल ब्याग र विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग हस्तान्तरण गरेको हो। मन्त्री खड्काको पहलमा कम्पनीले सहयोग गरेको हो।

कार्यक्रममा मन्त्री खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि आफूले सक्ने सहयोग गर्ने बताए। यसका साथै आफ्नो पहलमा सहयोग गरेकोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई उनले धन्यवाद दिए। 

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरी नै शिक्षा र स्वास्थ्यजस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्त्री खड्काको पहलमा स्कुल तथा बिध्यार्थिलाई सहयोग गर्न पाएको खुसी व्यक्त गरे। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केही थप हौसला मिलेको बताए। उनले मन्त्री खड्का र कम्पनीलाई धन्यवाद दिए। 

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरिबहादुर खड्का, विकास अधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायत विभिन्न क्षेत्रका ५०० जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता थियो।