काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो मंसिर २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने बोनस सेयर पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले बोनस सेयर जारीपश्चातको हकसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ। कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमशः ६०ः४० रहेकोमा परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ आपसमा मर्जर सम्बनधमा मर्जर समितिबाट पेस हुन गएका प्रारम्भिक सम्झौतापत्रको मस्या स्वीकृत गर्नेलगायत सैद्धान्तिक स्वीकृतिका लागि बीमा प्राधिकरणसमक्ष निवेदन, सेयर कारोबार रोक्काका पत्राचार गर्ने, डीडीए गर्न लेखापरीक्षक, परामर्शदाता तथा मूल्यांकनकर्ता नियुक्त गर्नेलगायतका कार्य सञ्चालक समितिबाट भएका निर्णयहरु पनि अनुमोदन गर्नेछ। मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावत पनि सभाले पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ७ गतेसम्म कारोबार भई सेयरधनी किताबमा कायम सेयरधनीहरुमात्रै कम्पनी लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।