– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समय निरन्तर घटेको सेयर बजारमा आज गतिलो बाउन्स ब्याक भएको छ।

बजार अघिल्लो दिनको न्यून विन्दु २७७५ मा टेवा लिएर फर्केको हो। यसअघि पनि बजार यही विन्दुमा टेवा लिएर फर्केको थियो। 

आज कारोबार भएका अधिकांश कम्पनीको सेयरभाउमा सुधार आएको छ। योसँगै सेतो मारुबुजु मैनबत्ती बनेकोले बजारको अबको बाटो सुधारोन्मुख हुने देखिन्छ। 

बजार हिजो आइतबार घटेको अंकभन्दा बढी अंकले बढेको छ। कारोबार तथा भोलुम पनि सन्तोषजनक नै रहेको छ। त्यसैले बजारको अबको यात्रा बुलिस नै हुने देखिन्छ।

प्राविधिक पक्ष

मैनबत्ती विश्लेषणका आधार 

मैनबत्तीको चित्रका आधारमा आज लामो समयपछि सेयर बजारमा बुलिस इनगल्फिङ प्याट्रन बनेको छ। यस्तो चित्र केही समयपहिला बन्दा बजार लगभग ५०० अंकले बढेको थियो (हेर्नुुहोस् पहिलो हरियो एरो)। यदि अघिल्लो दिनको रातो मैनबत्तीलाई ढाक्ने गरी भोलिपल्ट हरियो मैनबत्ती बन्छ भने त्यसलाई बुलिस इनगल्फिङ भनेर बुझिन्छ। यसले बजार पुनः बुलिस यात्रामा जान थालेको संकेत गर्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट वेभलाई आधारमा विश्लेषण गर्नुपर्दा माइनर डिग्रीको वेभ ५ लगभग ३२२२ को विन्दुमा पूरा भएको हुनुपर्छ। त्यहाँबाट बजार तल झरेर सोही डिग्रीको ए, बी र सी बनाउँदै बजार २८०० को विन्दुभन्दा केही तल आएर फर्केको छ। अब बजारमा एउटा बलियो सम्भावना देखिन्छ। यदि बजारले पहिलेको उच्च विन्दुलाई ब्रेक गर्छ भने पुनः नयाँ डिग्रीको १, २, ३, ४ र ५ बनाउँदै बजार लगभग ३५०० को विन्दुसम्म पुग्न सक्ने सम्भावना उच्च रहेको देखिन्छ। वैकल्पिक रुपमा यदि बजारले त्यो विन्दुलाई ब्रेक गर्न सक्दैन भने बजार केही समय साइडवेजमा जाने सम्भावना पनि देखिन्छ। तर, यो सम्भवना न्यून छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा ३१२४ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा ३०६८ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवा ३००० को विन्दुसम्म, ०.६१ प्रतिशतको टेवा २९६० र ०.७८ प्रतिशतको टेवा २८६८ को विन्दुसम्म र १ प्रतिशतको टेवा २७७१ को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भर्खर एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट कटेको छ (हेर्नुहोस् रातो एरो)। त्यसपछि बजारमा करेक्सन आएको छ। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) नेगेटिभ भएका तर छोटा–छोटा हुँदै  गएकोले छिट्टै बुलिसक्रस ओभरको सम्भावना पनि देखिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले हिजो र आजको कारोबारले तल्लो ब्यान्डलाई छोएको छ र ब्रेकआउट पनि भएकोले अब विस्तारै बजार फेरि माथितिर नै जान सक्ने संकेत गरेको छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४४.४६ रहेको छ। जसको अर्थ हुन्छ, न्युट्रल जोनमा छ। अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २४.६२ मा आएर बजार फर्केको छ। यसको अर्थ हाल आरएसआई बढ्दो क्रममा  भएकोले केही समय बजारमा खरिदचाप पर्न सक्ने देखिन्छ।

निष्कर्ष

बजारलाई अल्पकालीन तथा दीर्घकालीन औजारहरुका माध्यमबाट हेर्दा दुवै औजारले बजारमा फेरि एकपटक बुलिस जर्नीको संकेत गर्छ। यो बीचमा बजार केही करेक्सन हुँदै माथि नै जाने देखिन्छ।  

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।