– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालका १८ वटा निर्जीवन बीमा कम्पनी छन्। तिनैमध्ये एउटा हो, राष्ट्रिय बीमा कम्पनी लिमिटेड (आरबीसीएल)। निर्जीवन व्यवसाय गर्ने र नेपालको आर्थिक क्षेत्रमा राष्ट्रिय स्थायित्व बनाउने उद्देश्यका साथ यो कम्पनीको २०७१ सालमा स्थापना भएको थियो। 

यस कम्पनीले सरकारी सम्पत्ति तथा सर्वसाधरणको स्वास्थ्य, कृषि तथा पशुपन्छीको बीमालगायत इन्जिनियरिङ र उड्डयन क्षेत्रमा पनि बीमा गर्ने गर्छ। यो कम्पनीमा नेपाल सरकार, कर्मचारी सञ्चयकोष र  नेपाल बैंकको गरी कुल ८०.४६ र सर्वसाधारणको १९.५४ प्रतिशत लगानी रहेको छ। देशभर यस कम्पनीका १५ वटा शाखा छन्। 

आधारभूत पक्ष 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३५.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३५.१४ गुणा रहेको छ। कम्पनीको इअर टु इअर ग्रोथ अर्थात उच्च मूल्यबाट गिरावट ४३ प्रतिशतभन्दा बढीले भएको छ। कम्पनीको प्राइस टु बुक भ्यालु १४.६ प्रतिशत र रिर्टन अन इक्विटी १० प्रतिशत रहेको छ। 

प्रतिसेयर नेटवर्थ १२८०.८१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१९२.३३ रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड ८५ लाख रुपैयाँ रहेको छ। कम्पनीको बीमा कोषको आकार २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। यो कम्पनीको ५२ हप्ताको न्यून मूल्य ११ हजार १२२ रुपैयाँ र हालसम्मको उच्च मूल्य २३ हजार ५९४ रुपैयाँ रहेको छ। 

कम्पनीका एक उच्च अधिकारीका अनुसार हाल कम्पनीको वार्षिक साधारणसभाका लागि दु्रतगतिमा काम भइरहेको छ। हाल एक्चुअरी भ्यालुएसनको कार्य भइरहेकोले आगामी पुस महिनासम्म वार्षिक साधारणसभा हुनसक्ने पनि ती अधिकारीले जानकारी दिए।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ। 

यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

यो कम्पनीले  बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ सी चलेको देखिन्छ। फलस्वरुप यो कम्पनीको सेयरभाउ केही समय साइडवेज जान सक्ने र पुनः नयाँ वेभसँगै पुनः पहिलेको मूल्य नै केही समयको अन्तरालमा छुन सक्ने देखिन्छ। जसलाई फिवोनासीमा जोडेर हेर्दा १.६१ प्रतिशतको वृद्धिमा सेयरभाउ पुनः माइनर डिग्रीको वेभ १ मा २१ हजार ६६८ रुपैयाँसम्म पुग्ने देखिन्छ। त्यस्तै वेभ २ बन्दा १८ हजार ६५६ रुपैयाँ र वेभ ३ बन्दा २२ हजार ९१ रुपैयाँ र वेभ ४ बन्दा सामान्य करेक्सनमा २१ हजार ८०६ रुपैयाँसम्म झर्न सक्ने देखिन्छ। त्यसपछि माइनर डिग्रीकै वेभ ५ तथा फिवोनासीको १.६१ प्रतिशतको वृद्धि भएर यो कम्पनीको सेयरभाउ २४ हजार ३१६ रुपैयाँ आगामी एक वर्षदेखि डेढ वर्षसम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बैंकको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा २२ हजार ५३० रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा २१ हजार ३७४ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा २० हजार ३३८ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा १९ हजार ४९९ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवा १८ हजार ८६ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १३ सेक्टेम्बरमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समयमा सेयरमूल्य वृद्धि हुन सक्ने देखिन्छ।

 

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको  मूल्य रेखाले एकपटक तल्लो  ब्यान्डलाई छोएको छ र मध्यरेखाभन्दा तल रहेर हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले यो कम्पनीको सेयरमा खरिदचाप आएको बुझिन्छ। छोटो समयमा सेयरभाउले अप्पर ब्यान्ड र लोअर ब्याडलाई छोएका कारण यो कम्पनीको सेयरमूल्यमा उच्च उतारचढाव भएको बुझिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको  हालको आरएसआई  विन्दुमा आएर ४१ रहेको छ। यसको अर्थ अघिल्लोपटक यो न्यून विन्दु १५ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ५८ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसको अर्थ यो कम्पनीको सेयरभाउ न्युट्रल जोनमै चलेको छ भन्ने हो। आरएसआईमा न्युट्रल जोनलाई पर्ख र हेरको अवस्थामा भएको बुझिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २०८०३
  • प्रतिराध २– २२३९२
  • प्रतिराध ३– २३१९४

पिभट प्वइन्ट : २०००६

घटेमा सर्पोट 

  • सपोर्ट १– १८४१२ 
  • सर्पोट २– १७६१५
  • सर्पोट ३– १६०२१

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।