– अर्जुन तिमिल्सिना

काठमाण्डौ । साल २०७८ लाई फर्केर हेर्दा नेपालको सेयर बजार इतिहासमै अविष्मरणीय रह्यो। सेयर बजारको २८ वर्षे इतिहासमा यही वर्ष भदौ २ गते नेप्सेले हालसम्मकै उच्च ३१९८ विन्दु चुमेको थियो। 

सूचकमात्रै नभएर यो वर्ष एकैदिन २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएर भोलुम र कारोबारको हिसाबले पनि बजार सम्झनायोग्य रह्यो। 

प्राविधिक रुपमा २०७८ को सेयर बजारलाई नियाल्दा सुरुआती ४ महिना बजार अधिक बुलिस बनेको देखिन्छ।  २०७८ वैशाख १ गते नेप्से परिसूचक २७१८ को विन्दुमा बन्द भएको थियो। अघिल्लो वर्ष २०७७ मा नै बुलिस अवस्थामा रहेको नेप्से २०७८ को सुरुआतमा निरन्तर बढोत्तरी भयो। वैशाख १ देखि भदौ २ गतेसम्मको ४ महिना बजार अधिक बुलिस भएर नयाँ उचाइ तय गरेको थियो। 

भदौ २ गतेदेखि मंसिर २८ गतेसम्मको ४ महिनामा लगभग ९५० अंकको गिरावट आएर बजार यही वर्षको हालसम्मको न्यून विन्दु २२६० सम्म झर्यो। पुस महिनादेखि चैत महिनासम्मको ४ महिनाको अवस्थालाई नियाल्दा यही वर्षको न्यून विन्दु २२६० भन्दा तल जान पनि सकेन र यही वर्षको उच्च ३१९८ विन्दुलाई ब्रेक गरेर माथि जान पनि नसकी बजार साइडवेजमा चल्यो। 

यस हिसाबले यो वर्षलाई समग्रमा नियाल्दा बजार ४ महिना  बुलिस, ४ महिना बियरिस र ४ महिना साइडवेजमा चलेको देखिन्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा)

२०७९ के होला ? 

लामो समय निरन्तर गिरावट आएको बजारले अन्तिम कारोबार दिन २३७० को बलियो सर्पोट लिएर ३० अंकको बढोत्तरीका साथ बजारले २०७८ साललाई सुखद बिदाइ गरेको छ। अन्तिम कारोबार नेप्से २४१५.२५ को विन्दुमा बन्द भएको छ। 

अब यदि बजार बुलिस नै भएर जाने हो भने पहिला लिएका सपोर्टलाई बजारले क्रमशः ब्रेक गरेर माथि जानुपर्ने हुन्छ। त्यसका लागि नेप्सेले पहिला लिएका सपोर्टहरुमा अब प्रतिरोध सामाना गर्ने देखिन्छ। पहिलाका सपोर्टहरु जस्तै– २५००, २७६० र २९८२ मा बलियो प्रतिरोध सामाना गर्न सक्छ। 

यदि ती प्रतिरोधलाई पनि ब्रेक गरेर बजार पहिलाको उच्च विन्दु ३१९८ लाई ब्रेक गर्छ भने त्यसपछिको नयाँ उचाइमा बजार लगभग ४००० सम्म पनि पुग्न सक्छ। 

यदि ती प्रतिरोध सामना नगरी बजार तल–तल नै कारोबार हुन्छ भने बजारले अर्को न्यून विन्दु कहाँसम्म बनाउला भनेर हामीले फिवोनासीमार्फत नियाल्नुपर्ने देखिन्छ। २०७६ साल मंसिरदेखि २०७८ साल भदौसम्मको नेप्से ११०० देखि ३१९८ सम्मको विन्दुलाई फिवोनासीमार्फत हेर्दा अब बजार अधिक न्यून करेक्सन भएमा फिवोनासीकै ०.६१ प्रतिशतको लगभग १९४० सम्म पनि आउन सक्छ।