-धनकुमार राई
काठमाण्डौ । पूँजी बजारको सुधारका लागि सरकार तथा सरकारी एजेन्सीहरु सकारात्मक रहेका खबरहरुले आइतबार बजारमा दोहोरो अंकको बढोत्तरी देखियो । फण्डामेन्टल कारणले मात्र होइन, प्राविधिक विश्लेषणमा समेत अहिलेको बजारको ट्रेण्डलाई बियरिसको अन्तको रुपमा हेर्न सकिन्छ । 

प्राविधिक रुपमा विश्लेषण गर्ने हो भने अहिलेको बजारको अवस्था बियरिसको अन्त नै हो । यसअघि बजार स्वभाविक बियरिस ट्रेण्डमा थियो, तर अब यो अन्त भएको म ठोकुवा गर्न सक्छु । बजार घटेपछि बढ्छ, त्यसकारण यो अवस्थालाई बजार वृद्धिको प्रारम्भिक विन्दू मान्न सकिन्छ ।

प्राविधिक प्याटर्नलाई हेर्दा बुलिस गाट्लेले समेत बजार माथि जाने प्रष्ट रुपमा देखाएको छ, यस्तो संकेत २ हप्ताअघि नै देखिएको थियो । अन्तर्राष्ट्रिय क्षेत्रको कमोडिटी र सेयर मार्केटको अभ्यास अनुसार हेर्दा अहिले बजार बढ्ने विश्वासिलो संकेत देखिएको छ । बुलिस गाट्ले देखिएपछि बजार ४ हप्ताभित्र ६१.८ प्रतिशतसम्म र १२ हप्ताभित्र १६१.८ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गर्न सकिन्छ।

यो बेलामा सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसले समेत बजार बलियो बन्दै गएको संकेत गर्छ । आइतबार बजार ३२ अंकले बढ्नु र कारोबार रकममा निकै ठूलो फड्को मार्नुले लगानीकर्तामा गुमेको आत्मविश्वास पुनः जागेको र लगानी गर्नुपर्छ भन्ने मोटिभेसन आएको रुपमा बुझ्नुपर्छ । त्यसकारण पनि आउने दिनमा बजार नबढी सुखै छैन । 

बजार यो वा त्यो विन्दूमा जान्छ भन्दा पनि हामी प्राविधिक विश्लेषकहरुले कारणसहित एउटा रेञ्ज भन्ने हो । ११९७ विन्दूको यात्रा पूरा गरिसकेपछि बजार १३३६ को विन्दूमा पुग्नुपर्छ भन्ने मेरो अभ्यास अनुसारको तर्क हो । यो अवधिमा उतारचढाव आए त्यो स्वभाविक नै हुनेछ ।

एकातिर टेक्निकल रुपमा बजार बढ्ने संकेत देखिएको छ भने यही बेला फण्डामेन्टल कारण समेत बलिया बनेका छन् । अर्थमन्त्रीले पूँजी र मुद्रा बजारको समस्या अध्ययन गर्न बनाएको कार्यदलले निकै राम्रा सुझाव दिएको छ र ती सुझाव कार्यान्वयनका लागि अर्थमन्त्रीबाट निर्देशन भएको कुरा बाहिर आएको छ । ती सुझावहरुको कार्यान्वयन भयो भने फण्डामेन्टलको कोणबाट समेत बजारलाई बढाउने बलियो आधार तयार हुन्छ । यहीबेला लगानीकर्ता संघसंगठनको तदारुकता समेत प्रशंसनीय रुपमा देखिँदैछ, यसले समेत लगानीकर्ताको मनोबल बढाउन केही न केही भूमिका खेल्छ नै । 

अहिले नेप्से इण्डेक्स ओभरसोल्ड टेरिटोरीमा छ । यो अवस्था ओभरसोल्ड रिजनमा भएकोले समेत किन्ने उपयुक्त अवस्था हो । यस्तै बेलामा लगानीकर्ताले सेयर किन्ने हो, यो कुरा बुझेका लगानीकर्ताको खरिदारी बढ्ने समेत देखिन्छ, जसले बजार बढाउन थप मद्धत गर्ला नै । 

अहिले नेप्सेमा सूचिकृत प्रत्येक कम्पनीले बोनस दिइरहेका छन् । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य समेत सकारात्मक नै छ । राजनीतिक स्थायीत्व छ । कर्जाको माग ह्वात्तै बढेको छ । मुद्रास्फिति नियन्त्रणमा छ । अर्थतन्त्रका सबै सूचक सकारात्मक भएको अवस्थामा सेयर बजार चाहि किन घट्छ त ? घट्ने कुनै कारण देखिन्न । 

हुन त नेपालको सेयर बजारका सूचिकृत कम्पनीहरुले हाम्रो आर्थिक परिदृश्यमा समावेश सबै क्षेत्रको प्रतिनिधित्व नगर्लान् । तर, जस्तो परिदृश्य छ, यसले केही न केही प्रभाव छाड्छ ।

यसरी हेर्दा फण्डामेन्टल र टेक्निकल दुवै अवस्था अहिले बजारका लागि सुखद छ । पछिल्लो सातादेखि नै मैले भनिरहेको बुलिस गाट्लेले अहिले काम गरेको दखिएको छ । अब त बजार नबढी सुखै छैन । 
(सेयर बजारका प्राविधिक विश्लेषक राईसँग गरिएको कुराकानीमा आधारित)