काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज सोमबारबाट लिलामीमा राखेको छ। 

कम्पनीले सीआईटीमा रहेको संस्थापक समूहको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरुले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्टको कार्यालय वा नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ १५ गते बैंकिङ समयसम्म तोकिएको छ।