काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ। 

प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांशमा परिमार्जन गर्दै अब चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

यसअघि सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि बीमा प्राधिकरण पठाएको थियो। बीमा प्राधिकरणले १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने सःसर्त स्वीकृति प्रदान गरेको छ। 

प्रिमियर इन्स्योरेन्सले यही पुस २९ गते आफ्नो २९ औँ वार्षिक साधारणसभाबाट डाकेको छ। सोही सभाबाट लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।