काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ८४ प्रतिशत बोनस सेयर वितरण वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । 

प्रिमियर इन्स्योरेन्सको आउँदा असार ३१ गते हुने २५ औँ वार्षिक साधारणसभामा बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत दरले ४९ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

बोनसमा लाग्ने कर भने कम्पनीले आफ्ना शेयरधनीहरुलाई नै तिराउने भएको छ । बोनस वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँभन्दा माथि हुन आउने छ । 

साधारण सभाका लागि इन्स्योरेन्स कम्पनीले असार २० गते शुक्रबारदेखि शेयर दाखिला खारेजी गर्ने भएको छ । यसअनुसार असार १९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र ८४ प्रतिशत बोनस प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछ।
 

प्रिमियर इन्स्योरेन्सको शेयर हिजो  मंगलबार दोस्रो बजारमा प्रतिकित्ता ९९७ रुपैयाँ बराबरमा कारोबार भएको छ।
 

त्यस्तै साधारणसभाबाट कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीसँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।