काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा खराब प्रदर्शन गरेको शिवम सिमेन्टको सेयरमूल्य उचाल्न अझै व्यापक चलखेल भइरहेको छ।

कम्पनीका प्रमोटरहरुबाट विभिन्न हल्ला फैलाएर सेयरमूल्य उचाल्न र सोझा लगानीकर्ताहरुलाई सेयर भिडाउने काम भइरहेको हो। 

कम्पनीहरुको वित्तीय सूचकमा रिटर्न अन इक्विटी (आरओई) प्रमुख मानिन्छ। गत आर्थिक वर्षमा शिवमको आरओई ७.४७ प्रतिशतमा झरेको छ। यो हिसाबले गत वर्ष कम्पनीले १०० रुपैयाँ लगानी गर्दामा जम्मा ७.४७ रुपैयाँमात्रै आम्दानी गरेको देखिन्छ। 

अघिल्लो वर्ष आरओई १४.४१ प्रतिशत थियो। गत वर्ष शिवमको आरओईमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.१७ प्रतिशले गिरावट आएको छ। 

त्यसैगरी शिवमको जगेडा कोषमा पनि भारी गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४० करोड रुपैयाँ जगेडा कोषको आकार घटेर गत वर्ष ४ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको छ। 

शिवमको खुद नाफा र प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि भारी गिरावट आएको छ। खुद नाफा १४ अर्ब १२ करोड रुपैयाँबाट ६ अर्ब ८९ करोडमा सीमित भएको शिवमको ईपीएस ३२.११ रुपैयाँबाट घटेर १५.६७ रुपैयाँमा सीमित भएको छ। दुवै सूचकमा ५१.०२ प्रतिशतको गिरावट आएको छ। 

यसरी अधिकांश सूचकमा खराब प्रदर्शन गरेको शिवमको सेयरभाउ उचाल्न प्रमोटरहरुबाट व्यापक चलखेल भइरहेको छ। 

गत वर्षको वित्तीय विवरण सार्वजनिक हुनुअघि कम्पनीका प्रमोटरहरुले विभिन्न हल्ला फैलाएर सेयरमूल्य बढाउँदै सोझा लगानीकर्तालाई भिडाउन काम गरेका थिए। ‘जब वित्तीय विवरण खराब आयो तब सोझा लगानीकर्ताले आफूहरुलाई फसाइएको बुझे’, एक बजार जानकार भन्छन्, ‘त्यसपछि घट्न थालेको शिवमको सेयरभाउ फेरि बढाउन प्रमोटरहरुले पुनः चलखेल गर्न थालेका छन्।’

प्रमोटरहरुले कम्पनीले ११ करोड बोरा सिमेन्ट बेचेको भनेर बजारको माहौल तयार गरेका थिए। धेरै बोरा बेचेर राम्रै नाफा कमाएको, हकप्रद पनि ल्याउने र राम्रो बोनस पनि दिने भनेर हल्ला उनीहरुले चलाएका थिए। 

शिवम सिमेन्टको कुल ४ करोड ४० लाख कित्ता सेयर रहेकोमा गत वर्ष लकिङ पिरियड खुलेर ७० प्रतिशत सर्वसाधरणमा र ३० प्रतिशतमात्रै प्रमोटरको कायम भएको थियो। यही अवसरलाई छोपेर प्रमोटरहरुले लकिङ पिरेड खुलेपछि हुन आउने ७० प्रतिशत सेयर अर्थात ३ कारोड ८ लाख कित्ता दोस्रो बजारमा बेचेर अर्बौंको रुपैयाँ कुम्ल्याउने दाउँमा छन्।

ती बजार जानकारका अनुसार अहिले प्रमोटरहरु चलखेल गरिरहेको फर्दाफास भएको छ। ‘तर, उनीहरु अझै चलखेल गरिरहेका छन्, सेयरभाउ घट्न नदिन सेयर आफैँले खरिद–बिक्री गरिरहेका छन्, ती बजार जानकारले भने, ‘उनीहरु शिवमको सेयरभाउ घट्न नदिने र केही बढाएर फेरि अरुलाई भिडाउने दाउँमा छन्।’

आजको कारोबारमा तेस्रो नम्बरमा आएको शिवमको ब्रोकर होल्डिङ र  फ्लोरसिट हेर्दा अघिल्लो साताको तुलनामा ब्रोकर नं. २८ र ५८ को ब्रोकर होल्डिङ घटेको छ। यसले २८ र ५८ नं. ब्रोकरबाट शिवमका प्रमोटरहरुले धमाधम सेयर बिक्री गरिरहेको पुष्टि हुन्छ। 

अघिल्लो साता ब्रोकर नं. २८ को ८ लाख कित्ताबराबर होल्डिङ रहेकोमा यस साता घटेर ५ लाख कित्ता हाराहारीमा आएको छ। (हेर्नुहोस् तल तस्बिरमा)

यो पनि पढ्नुहोस् –

– शिवमका प्रमोटरको लुटधन्दा-१: एघार करोड बोरा बेचेको भन्दै माहौल बनाए, सोझालाई सेयर भिडाएपछि वित्तीय विवरण ल्याए

– शिवमका प्रमोटरको लुटधन्दा-२: एकमहिनामै दुई ब्रोकरबाट लाखौँ कित्ता सेयर बिक्री