काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा १५.०६ प्रतिशतले बढाएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ३१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खुद नाफा २६ करोड ९७ लाख रुपैयाँ थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४ करोड ६ लाख रुपैयाँको छलाङ मार्न सफल भएको हो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ७५ करोड २० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षमा ६३ करोड ८८ लाख रुपैयाँ थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ४८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४२ करोड ४९ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ४ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष २ करोड ५४ लाख रुपैयाँ थियो। 

यस अवधिमा संस्थाले ५ अर्ब १ करोड ५४ लाख रुपैयाँ सापटी लिई १० अर्ब ६ करोड ८९ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३ अर्ब ८० करोड ३४ लाख रुपैयाँ सापटी लिई ७ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ३७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ३७ करोड ५२ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३९.४७ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ६३ करोड १० लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार बढेर समीक्षा अवधिमा ८८ करोड रुपैयाँ भएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ८२.१९ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १८.६२ गुणा, प्रतिसेयर नेटवर्थ ३३३.०३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९६६.०५ रुपैयाँ रहेको छ ।