निर्णय सच्याउँछु  भन्दै काइते काम
आफ्नै ढीटले फस्दै अमृता सुब्बा
इटहरी । महिलाहरुले संचालन गरेको र महिलाकै लगानी तथा सबै शेयर सदस्य महिला नै रहेको नेपालको पहिलो र चर्चित सहकारी संस्था इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्था लिमीटेडका पछिल्लो गैरकानूनी निर्णयप्रति सहकारी डिभीजन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएका छन् । 

महिला बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व अमृता सुब्बाको टिमले सम्हालेपछि संस्थाको नियमावली, नीति र साधारणसभाको म्याण्डेड विपरीत गैरकानूनी निर्णय गर्दै संचालक समिति अघि बढेपछि नियामक निकायले चासो दिएका हुन् । 

पछिल्लो समय जथाभावी  खर्च गरिरहेको यो संस्थाकी अध्यक्ष अमृता सुब्बाकै एकहोरो जोडका कारण सहकारीनको नियमावली र साधारणसभाको म्याण्डेड विपरीतका बग्रेल्ती काम भएको छ । पछिल्लो पटक सहकारी संस्थाको एक शेयर सदस्य बनाएर ल्याएमा यातायात खर्चको नाममा कमिसन दिन थालिएपछि सुब्बा थप विवादमा परेकी छिन् । सुब्बाले कमिसन दिने  निर्णय गैरकानूनी हो भन्ने जान्दा जान्दै पनि संचालकहरुलाई पेलेर अगाडि बढ्न खोजिरहेकी  थाहा भएको छ । सुब्बाको जोडमा भएको गैरकानूनी कमिसनको निर्णयविरुद्ध पूर्वअध्यक्ष गीता श्रेष्ठले जिल्ला सहकारी डिभीजन कार्यालयमा उजुरी दिएपछि यो विषय थप जटिल बनेको छ । 

सहकारी प्रशिक्षण तथा डिभीजन कार्यालयले महिला बचतलाई पठाएको पत्र । 

सहकारी डिभीजन कार्यालयले अमृता सुब्बाको गैरकानूनी निर्णयप्रति प्रश्न उठाउँदै गम्भीर आपत्ति जनाएको छ । चैत २४ गतेको मितिमा महिला बचतलाई पत्र लेख्दै सहकारी प्रशिक्षण तथा डिभीजन कार्यालयले संस्था संचालन गर्दा सहकारीको सिद्धान्त, मूल्य मान्यता, सहकारी ऐन, नियम, मापदण्ड, संस्थाको विनियम, नीति तथा कार्यक्रम, संस्थाको आम्दानी एवम् खर्चको बिषयमा समेत साधारणसभाको निर्णय एवम्  प्रचलित कानून बमोजिम  संस्था संचालन गर्ने व्यवस्था गर्न कडा निर्देशन जारी गरेको छ । यस्तै  मनपरी ढंगले अगाडि नबढ्न र सदस्यहरुको गुनासो संस्थाबाट नै सम्बोधन गर्ने प्रभावकारी  व्यवस्था मिलाइ संस्था संचालन गराउन समेत डिभीजन कार्यालयले कडा निर्देशन जारी गरेको छ । 

डिभीजन कार्यालयका प्राचार्य बलराम निरौलाले पठाएको पत्रको चलानी नम्बर ८८३ हो । 

शेयर सदस्य बनाएबापत संस्थाले पूर्व अध्यक्ष गीता श्रेष्ठलाई दिएको कमिसनको भरपाईं । 

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय  कार्यालय इटहरीले समेत संस्थाका संचालकहरुलाई टेलिफोन गरेर महिला बचतमा भइरहेको गैरकानूनी काम र साधारणसभाको म्याण्डेडविपरीतको मनपरीतन्त्रको  विषयमा चासो व्यक्त गरेको छ । स्रोतका अनुसार बिजशालामा प्रकाशन भइरहेको समाचारहरुलाई आधार मानेर अख्तियारका अधिकारीहरुले चासो व्यक्त गरेका र कागजपत्र समेत माग गरेका बुझिएको छ । अख्तियार स्रोतका अनुसार महिला बचतको गैरकानूनी कार्यको बिषयमा आवश्यक अनुसन्धान सुरु गरिएको छ । सयौं  सदस्यहरुको करोडौ रकममा अमृता सुब्बा र उनी नेतृत्वको संचालक समितिले मनपरी  गरिरहेकोले यसमा अनुसन्धान आवश्यक रहेको अख्तियारको ती अधिकारीले जानकारी दिए । 

उता, बिजशाला संवाददातासँग कुरा गर्दै महिला बचतकी अध्यक्ष अमृता सुब्बाले अघिल्लो साता नै कमिसन दिने निर्णय सच्याउने ओठे जवाफ दिएकी  थिइन । तर संस्थाका एक संचालक समिति सदस्यका अनुसार पत्रत्रकारसँग निर्णय सच्याउँछु भने पनि बैठकमा चाहि संस्थाकै हितका लागि निर्णय भएको हो, किन सच्याउने, असारसम्म यसैगरी पेलेरै अगाडि बढ्ने भनेर निर्णय गराएकी छिन् । ‘मिडियासामु झूठको खेती गरेर सहकारी डिभीजन र अख्तियारको आँखा छोप्ने र आफ्नो गलत निर्णयलाई बैध बनाउने बाटो उनले रोजेको देखिएको छ ।’ ती संचालकले भनिन्–‘अमृता सुब्बा आफ्नै कारण एकपछि अर्को गर्दै समस्यामा फसिरहेकी छिन् । 

अमृता सुब्बाले चाहि संवाददातासँगको भेटमा आफ्नो निर्णय गलत भए सच्याउँछु भने पनि उल्टो अघिल्लो कार्यसमितिले समेत यस्तै काम गरेको दोष थोपरिन् । ‘अघिल्लो कार्यसमितिले बनाएको योजना अनुसार नै मैले यो निर्णय गरेको हुँ ।’ उनले दाबी गर्दै भनिन्–‘गीता श्रेष्ठको पालामा त झन धेरै सदस्य बनाउनेले चाँदीका सिक्का नै कमिसनको रुपमा उपहार दिइन्थ्यो ।’ इटहरीका अन्य सहकारीमा पनि यस्तो चलन रहेको दाबी गरे पनि कमिसन दिने काम चाहि गैरकानूनी भएको उनको निश्कर्ष थियो । तर गैरकानूनी भनेर निश्कर्षमा पुगे पनि सो निर्णयलाई काइते ढंगले नसच्याउनुले उनी गैरकानूनी कामलाई शक्तिको भरमा अरुलाई बेवकुफ बनाएर यथावत बनाउने खेलमा छिन् भन्ने कुरा बुझ्न गाह्रो नहुने स्रोतको भनाई छ ।