काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनेक अड्कलबाजीहरु काटिँदै आएरहेका छन्। यसमध्ये फाइभ–जी नेटवर्कका कारण कोरोना संक्रमणको फैलावटमा वृद्धि भएको भन्ने अफवाह पनि एउटा हो। 

कन्सपिरेन्सी थियोरीलाई बढावा दिनेहरुले फाइभ–जी नेटवर्क भएका देशहरुमा अन्य देशको तुलनामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको दाबी गरिरहेका छन्। तर अहिले यी तमाम भ्रमहरुलाई चिर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ एडभाइजरी जारी गरेको छ। 

फाइभ–जी नेटवर्कमा पेट्रोल बम 

फाइभ–जी नेटवर्कका कारण विश्वमा कोरोना फैलिएको भन्ने अफवाह बेलायतमा यति तीव्रगतिमा फैलिएको कि त्यहाँको भोडाफोनको एउटा फाइभ–जी टावरमा कसैले पेट्रोल बलमे आक्रमण गर्यो। 

अनलाइन दुनियाँमा यसबारे चर्काे रुपमा बहस र चर्चा हुन थाल्यो। जसका कारण अहिले विश्व स्वास्थ्य संगठनलाई नै यस विषयमा बोल्न अगाडि आउनुपर्यो। टावरमा आक्रमणपश्चात बेलायतको भोडाफोन कम्पनीले फाइभ–जी नेटवर्कका कारण कोरोना संक्रमणमा वृद्धि भएको भन्ने आरोपलाई आधारहीन भन्दै कम्पनीलाई क्षति पुर्याउने मनसायले यस्तो हर्कत गरिएको दावि गर्यो। 

के भन्यो विश्व स्वास्थ्य संगठनले 

विश्व स्वास्थ्य संगठनले एउटा एडभाइजरी जारी गरेर कोरोनाभाइरस रेडियो तरंग र मोबाइल नेटवर्कका कारण नफैलिने स्पष्ट पारेको छ। संगठनले फाइभ–जी नेटवर्क नभएका देशहरुमा समेत कोरोना संक्रमण देखिएकाले यस्ता आरोपमा सत्यता नभएको जनाएको छ। 

किन फैलियो अफवाह 

वास्तवमा थ्री–जी र फोर–जी नेटवर्कको तुलनामा फाइभ–जी टेक्नोलोजिका लागि अत्यन्तै घना नेटवर्कको आवश्यकता पर्ने गर्दछ। यसको कारण यो हो कि यसमा जुन स्पेक्ट्रम ब्यान्ड, मिड ब्यान्ड र मिलिमिटर वेब्सको प्रयोग गरिन्छ, जसमा उच्च फ्रिक्वेन्सीको तरंग हुने गर्दछ। जसको कभरेजका लागि धेरै टावर र ससाना सेलजस्ता नेटवर्कको आवश्यकता पर्ने गर्दछ। 

यदि कुनै टलिकम कम्पनीले मिलिमिटर वेभको प्रयोग गर्दछ भने उसलाई प्रत्येक बेस स्टेसनमा अत्यधिक एन्टेना जडान गर्न आवश्यक पर्दछ। 

कनसल्टेनसी फर्म अन्स्र्ट एन्ड योङका अनुसार फोर–जीको तुलनामा फाइभ–जीमा प्रत्येक सेलमा ५ देखि १० गुणा धेरै साना सेलहरु आवश्यक पर्ने गर्दछ। त्यसैले धेरै टावर,एन्टेना,र साना साना सेलहरुको अर्थ मानिसहरुमा रेडियो तरंगको सम्पर्क पनि धेरै हुन्छ। 

के स्वास्थ्यका लागि हानिकारक छ फाइभ–जी टेक्नोलोजी 

एउटा अनुमानका अनुसार विश्वभरका १२५ कम्पनीहरुले व्यावसायिक रुपमा फाइभ–जी टेक्नोलोजीको सुरुआत गरिसकेका छन्। यीमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। फाइभ–जी नेटवर्कका कारण मानव स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भनेर थुप्रै अध्ययन भएका छन्। 

विश्व स्वास्थ्य संगठन र अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनको अध्ययनमा फाइभ–जी नेटवर्कका कारण मानव स्वास्थ्यमा कुनै असर नपर्ने जनाइएको छ। तर वैज्ञानिकहरुले स्वतन्त्र रुपमा गरेका अन्य थुप्रै अध्ययनहरुमा फाइभ–जी नेटवर्कले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने दाबी गरिएको छ। 

अहिले विश्वभर कोरोना संक्रमणको फैलावट तीव्रगतिमा भइरहेकाले यसबारे अनेक अफवाहहरुले स्थान पाइरहेका छन्। विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोडभन्दा धेरै पुगिसकेको छ। यसमध्ये करिब ५ लाखभन्दा धेरैको ज्यान गइसकेको छ। – एजेन्सी