काठमाण्डौ । ललितपुर उद्योग वाणिज्य संघले ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४’ आयोजना गर्ने भएको छ । 

आगामी फागुन ३० देखि चैत ३ गतेसम्म गरी चारदिनसम्म ललितपुरको पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक भण्डारखाल बगैंचामा मेला संचालन हुनेछ । मेलाको समुद्घाटन प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्नेछन् ।

यसअघि स्वर्णजयन्तीलाई स्मरणीय बनाउन उद्योग वाणिज्य स्वर्ण महोत्सव स्मारकको ललितपुर जावलाखेलको मूल चोकमा शिलान्यास भइसकेको छ । संघले मेलाको दौरानमा नेपाल राष्ट्र बैंक, टक्सार विभागमार्फत स्वर्ण जयन्ती लोगो अंकित रु. १०००।– को चाँदीको सिक्का र रु. १००।– को साधारण सिक्का निश्काशन गरिने समेत संघले  पत्रकार सम्मेलन गरी जनाएको छ । संघको स्थापना २०२३ साल चैत्र ४ गते भएको थियो।

२०६९ सालमा आयोजना गरिएको ललितपुर महोत्सवको सफलताको अनुभवबाट सिक्दै यस वर्ष पनि मेला आयोजना गर्न लागिएको बताइएको छ । 

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका एवं महालक्ष्मी नगरपालिकाको साथै नेपाल सरकार व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको मेलामा सहयोग रहने बताइएको छ । 

नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइने यस मेलामा स्वदेशी तथा विदेशी गरी कृषि, हस्तकला, विज्ञान प्रविधि तथा अन्य औद्योगिक उत्पादनका ९० वटा प्रदर्शनी स्टल रहने छन् । स्टलहरुमा सजावटका सामान, पर्यटन सम्बन्धी विभिन्न सामग्री, आयुर्वेद, सौन्दर्यका सामग्रीहरु एवं स्वदेशी कपडा जन्य उत्पादनहरु समेत रहने छन् ।

मेलामा साढे २ लाख स्वदेशी र विदेशीको सहभागी रहने तथा करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघले जनाएको छ ।