काठमाण्डौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने पनि बताएका छन् । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए । 

सो अवसरमा अर्थमन्त्री विष्णु पौडेलले सिलवाललाई शुभकामना दिएका थिए । पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका उनको निजी सचिवालयले जनाएको छ । 

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिए । 

राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए ।