काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले नयाँ इण्डेक्सको रुपमा नेप्से फिफ्टी(Nepse-50) बैशाख २ गते घोषणा गर्ने तयारी गरिरहेको छ । 

नेप्सेस्थित उच्च स्रोतकाअनुसार ५० वटा विशेष खालका स्टकहरुलाई समावेश गरी ‘नेप्से–५०’ नामको नयाँ इण्डेक्स लञ्च गर्ने तयारी भइरहेको हो । 

जारी तयारी तथा प्रक्रियाहरुमा कुनै अभूतपूर्व अवरोध भएन भने नेप्से–५० आउँदो बैशाख २ गतेदेखि कार्यान्वयनमा आउनेछ । उच्च स्रोतले बिजशालासँग भन्यो–‘हामीले यो इण्डेक्सलाई पुस मसान्तबाट नै कार्यान्वयनमा ल्याउन खोजेका थियौं, तर तयारी पूरा नभएका कारण केही समय ढिलो हुने भएको हो ।’

नेप्से–फिफ्टी सञ्चालनका विषयमा आवश्यक कार्यविधिको मस्यौदा तयार भइसकेको समेत स्रोतको दाबी छ । यो विषयमा नियामक धितोपत्र बोर्डको राय लिने उद्देश्यले त्यहाँका अधिकारीहरुसँग एकचरणको अन्तरक्रिया समेत नेप्सेले सम्पन्न गरिसकेको छ । 

नेप्सेले अब निकट भविष्यमै एउटा इण्डेक्स म्यानेजमेन्ट कमिटी बनाउनेछ । सो कमिटीमा बजारका विज्ञ, विभिन्न विश्वविद्यालयका प्राध्यापक, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजीबजार समितिका प्रतिनिधि, तथ्याङ्क विभागका विज्ञ, नेपाल राष्ट्रबैंकका प्रतिनिधि सदस्यको रुपमा रहनेछन् । 

सोही समितिको निर्देशन बमोजिम नेप्से फिफ्टीको कार्यविधिका लागि तयार मस्यौदा थप परिमार्जन गर्दै पास गर्ने काम हुनेछ । 

हाल नेप्से फिफ्टीका लागि नेप्सेको बजारका विज्ञहरु कृष्ण गिरीको नेतृत्वमा काम भइरहेको स्रोत बताउँछ । लगानीकर्ताको तर्फबाट विश्लेषक अतितलाल श्रेष्ठ, मर्चेन्ट बैंकरको तर्फबाट एनएमबी क्यापिटलका पूर्व सीइओ ब्रजेश घिमिरे लगायतले समेत यसमा सहयोग गरिरहेका छन् । 

नेप्से फिफ्टीमा कस्ता–कस्ता इण्डेक्स रहने भन्ने विषयलाई समेत विज्ञ सम्मिलित कमिटीले फाइनल गर्नेछ । हाल तयार मस्यौदामा संस्थापक सेयर, सरकारी तथा अर्धसरकारी निकायका रणनीतिक लगानीका कम्पनीका सेयर, संस्थागत प्रवद्र्धन भएका सेयर नेप्से इण्डेक्समा कारोबार नहुने व्यवस्था उल्लेख छ । वैदेशिक लगानी भएका कम्पनीका सेयर समेत यो विशेष खालको इण्डेक्समा समेटिनेछैन । 

यिनै विषयमा केन्द्रीत रही नेप्सेले आवश्यक डेटाहरु संकलन तथा अध्ययनको काम गरिरहेको छ । तिनै डेटाहरुको अध्ययनपछि नेप्से ५० मा समावेश हुनसक्ने ५० कम्पनीको सूचि तयार गरिनेछ । 

‘तथ्याङ्क आइसकेपछि क्राइटेरियाका आधारमा नेप्से ५० मा समावेश हुनसक्ने कम्पनीको नाम टुङ्याउनेछौ ।’ स्रोतले भन्यो–‘५० वटा कम्पनी योग्य देखिएनन् भने यो इण्डेक्सको नाम नेप्से ४० वा नेप्से ३० राखेर पनि लञ्च गर्न सकिनेछ ।’