– रेखा चन्द

काठमाण्डौ । दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ। मानिसहरुले दसैँमा अनिवार्य रुपमा आवश्यक पर्ने नयाँ नोट सटही गर्ने गर्दछन्। 

दसैँ सोमबारबाट सुुरु भइसकेको छ। दसैँलाई लक्षित गरी यतिबेला देशभर नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले धमाधम ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि शुल्क नलिई नयाँ नोट सटहीको सुुविधा दिइरहेका छन्। तर, अहिले राष्ट्र बैंकलाई नै चुुनौती दिने गरी फुुटपाथ व्यापारीहरुले खुलमखुला ग्राहकबाट कमिसन लिएर नयाँ नोटहरु साटिरहेका छन्। 

काठमाण्डौको रत्नपार्क आसपास, न्युुरोड गेटदेखि काडमाण्डौ मलको अगाडिसम्म नयाँ नोट सटही गर्ने फुुटपाथ व्यापारी छ्यापछ्याप्ती बसेका देखिन्छ। राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थामा नयाँ नोट सटहीका लागि लागेकोजस्तै फुटपाथमा पनि भीडभाड लाग्ने गरेको छ। ती व्यापारीले निश्चित कमिसन लिएर नयाँ पैसा साट्न निकै व्यस्त देखिन्छन्।

नयाँ नोट साट्ने अधिकार केन्द्रीय बैंकसहित अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मात्रै छ। तर, अहिले बैंक तथा वित्तीय संस्थालाई चुनौती दिँदै फुटपाथमा व्यापारीहरुले ग्राहकबाट शुुल्क लिएर नयाँ नोट सटही गरिरहेका छन्। 

आफूहरुले राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर फुुटपाथमा शुुल्क लिएर सटही गरिरहेको रत्नपार्कको फुटपाथमा नयाँ नोट साट्ने बसेकी एक व्यापारीले बताइन्। ‘मैले पहिलेदेखि यहीँ बसेर डलर सटही गर्थें’, ती व्यापारीले भनिन्, ‘अहिले नयाँ नोट राष्ट्र बैंकमै पुुगेर ल्याएको साट्ने व्यापार गरिरहेकी छु।’

यसरी फुटपाथमै नयाँ नोट साट्ने व्यापार यसपालिको दसैँमा मात्रै भएको भने होइन। विगतका वर्षहरुमा पनि यसरी नै फुटपाथमा खुलमखुला नयाँ नोट्ने व्यापार चल्दै आएको थियो। तर, अहिलेसम्म राष्ट्र बैंकको नजर नपुगेकोजस्तो देखिन्छ। 

राष्ट्र बैंकले नयाँ नोट फुुटपाथमा शुुल्क लिएर सटही गर्ने कार्य गैरकानुनी रहेको जनाएको छ। ‘कमिसन लिएर नयाँ नोट साट्नु एकदमै गलत र गैरकानुनी कार्य हो’, राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं मुुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले भने।

नेपालका अनुुसार लिखित उजुुुरी वा गुुनासो आएको खण्डमा राष्ट्र बैंकले मुुलुुकी फौजदारीसंहिताअनुुसार त्यस्ता व्यापारीलाई काबारही गर्न सक्छ। ‘अहिलेसम्म औपचारिक गुनासो, उजुुरी परेको छैन तर यस्तो कार्य धेरै भयो या औपचारिक गुनासो वा उजुुरी आएको खण्डमा राष्ट्र बैंकले मुलुकी फौजदारीसंहिताअनुसार काबाहीका लागि प्रहरीलाई पत्रचार गर्न सक्छ’, उनले भने।