काठमाण्डौ । नेपालको बैकिङ इतिहासको अर्को दुर्लभ घटना भएको छ । मर्जर वा एक्वीजिसनको सम्झौता गरी सबैै काम पूरा भइसकेपछि अन्तिम अवस्थामा केही सेयरधनीको स्वार्थ पूरा नहुने अवस्था देखिएपछि साधारणसभाले त्यसलाई खारेज गरेको घटना नेपालको बैकिङ क्षेत्रमा न्यून मात्र छन् । पछिल्लो समय सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको वार्षिक साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्ति गर्ने प्रस्तावलाई अन्तिम अवस्थामा अस्वीकृत गरिदिएको हो । 

जेठ १९ गते सम्पन्न सांग्रीलाको वार्षिक साधारणसभाले कम्युनिटी डेभलपमेन्ट बैंकको प्राप्तिको सम्झौता संचालक समितिको गलत निर्णय भएको दाबी गर्दै त्यसलाई अस्वीकृत गरिदिएको हो । 

मुख्य रुपमा मेजर सेयर होल्डरहरुले १ बराबर १ को सेयर स्वाप रेसियोमा कम्युुनिटी डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव नै गलत भएको भन्दै लिखित रुपमा असहमति जाहेर गरेका थिए । बहुसंख्यक सेयरहोल्डरबाटै असहमति जाहेर भएपछि अन्तिम अवस्थामा पुुगेको एक्वीजिसन प्रक्रिया रद्ध भएको छ । 

सांग्रीलाले करिब ५ महिनाअघि नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने सम्झौता गरेको थियो । डिडिए समेत सम्पन्न भई कर्मचारी मिलान लगायत सबै बिषयको मोडालिटी समेत तयार भइसकेको थियो । तर, अन्तिम अवस्थामा साधारणसभाबाट सबै काम सकिएर अन्तिम अवस्थामा पुुगेको प्राप्ति प्रक्रिया रद्ध भएको हो । 

‘हामीले संचालक समिति र म्यानेजमेन्टको तर्फबाट सबै काम सकी एक्वीजिसनको प्रस्ताव साधारणसभामा पेश गरेकै हौ ।’ सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बिजशालासँग भने–‘मेजर सेयरहोल्डर नै गाभ्न हुँदैन भने पछि त्यही प्रस्ताव स्वीकृत भयो ।’

सांग्रीलाले प्राप्तिको सम्झौता गरेपछि नेपाल कम्युनिटी डेभलमेन्ट बैंकको सेयर कारोबार २०७३ पुस २१ गतेदेखि रोकिएको थियो । सांग्रीलाको साधारणसभाले तीन जिल्ले विकास बैंकलाई प्राप्तिको प्रस्ताव अस्वीकृत गरिदिएपछि दुवै बैंकलाई समस्या भएको छ । कारण, दुवै बैंकले तोकिएको समयभित्र चुक्तापुँजी पुर्याउनुपर्ने चुनौति थपिएको छ । प्राप्तिको प्रक्रिया मिलाउने क्रममा करिब ५ महिनासम्म भएको गृहकार्यको क्रममा दुवै बैंकको लाखौं रुपैयाँ समेत खर्च भएको थियो, जुन बेकार बनेको छ । 

सांग्रीला डेभलपमेन्ट बैंकको साधारणसभाले एकजिल्ले कसमस डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रस्ताव भने पारित गरेको छ । प्रस्ताव पारित सँगै बैंकले अन्तिम स्वीकृतिको प्रस्ताव राष्ट्रबैंकमा पठाएको छ । 

तीनजिल्ले विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्वीकृत भएपछि तोकिएको समयमा चुक्तापुँजी पुर्याउने उद्देश्यले सांग्रीलाको साधारणसभाले कसमसको प्राप्तिपछि कायम हुन आउने चुक्तापूँजीको ८० प्रतिशत हकप्रद वितरणको प्रस्ताव पारित गरेको छ । कसमसलाई प्राप्तिपछि सांग्रीलाको चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । ८० प्रतिशत हकप्रदको बिक्रीपछि यो विकास बैंकको चुक्तापूँजी २ अर्ब ४४ करोडको उचाईमा पुुग्नेछ । 

उता, सांग्रीलाले गाभ्न अस्वीकृत गरेपछि नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि हकप्रदकै बाटो समातेको छ । यो बैंकले १२० प्रतिशत हकप्रद प्रस्ताव आइतबार पारित गरेको छ । हकप्रदको पूँजीकरणपछि यो बैंकको चुक्तापूँजी ५१ करोड २५ लाखको उचाईमा पुुग्नेछ ।