काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) फेरि बढ्न थालेको छ। 

असार मसान्तसम्ममा राष्ट्र बैंकको नियमअनुरुप ९० प्रतिशतमुनि सीडी रेसियो कायम गर्न सफल भएका बैंकहरुको सीडी रेसियो फेरि बढ्न थालेको छ। असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसतमा सीडी रेसियो ८६.४१ प्रतिशत रहेको थियो। तर, साउन २५ गते बुुधबारसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो बढेर ८८.२५ प्रतिशत पुुगेको छ। जुन अघिल्लो दिन साउन २४ गते ८८.०५ प्रतिशत थियो। 

नेपाल बैंकर्स संघका अनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.६९ प्रतिशत थियो। 

सीडी रेसियोले बैंकिङ भाषामा क्रेडिट–डिपोजिट अनुपातलाई जनाउँछ। बैंकहरुले निक्षेपका रुपमा उठाएको रकममध्ये कति ऋणका रुपमा परिचालन गरिएको छ भन्ने कुरा यसले बताउँछ।

अहिले राष्ट्र बैंकले निक्षेपको ९० प्रतिशत ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष ७८–७९ को मौद्रिक नीतिमार्फत सीसीडी रेसियोलाई खारेज गर्दै सीडी रेसियो ल्याएको थियो।