काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ फेरि अहिलेसम्मकै सर्वाधिक उचाइमा पुगेको छ । 

चीनमा महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको छ । यो भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि गत पुस २३ गते पनि प्रतितोला छापावाल सुन ७६ हजार ५०० र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ पुगेको थियो । 

गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

चीनमा अहिले महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले विश्वव्यापी रुप लिन थालेको छ । यसले गर्दा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु परिरहेको छ । व्यापारी तथा सर्वसाधारणहरुले अहिले सुरक्षित मानेर सुनमा लगानी गरिरहेका छन् । जसका कारण विश्व बजारमा सुनको मागसँगै मूल्य पनि बढिरहेको छ । 

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १६ सय डलरभन्दा माथि रहेको छ। यही अवस्था रहिरहने हो भने सुन प्रतिऔँस २ हजार डलर पुग्ने विश्लेषकहरु बताउँछन् । यदि सुन प्रतिऔँस २ हजार डलर पुगेमा नेपाली बजारमा सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाको हाराहारीमा पुग्नेछ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ८९५ रुपैयाँ पुगेको छ ।