काठमाण्डौ । बढ्दो मुद्रास्फीति र अन्य कारणले विश्वका धेरैजसो देशको अर्थतन्त्रको हालत खराब बनेको छ। यहीबेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन संकटमा परेको छ। फेरि यसको ठूलो कारण बनेको छ, कोरोना। 

मिडिया रिपोर्टका अनुसार चीनको वित्तीय बजारले अर्थतन्त्रमा मन्दी आउने संकेत देखाएको छ। कोरोनाको बढ्दो मामिलाले चीनको अर्थतन्त्रलाई नै खतरा बन्दै गइरहेको छ। कोरोना संक्रमणको बढ्दो प्रकोपलाई रोक्न लकडाउनको सहारा लिने हो भने अर्थतन्त्रमा समस्या आउने अनुमान गरिएको छ। यही कारण पछिल्ला १५ दिनदेखि चिनियाँ सेयर बजार नराम्ररी प्रभावित भइरहेको छ। 

चीनको ह्याङ सेङ चाइना इन्टरप्राइज इन्डेक्स जुन २८ देखि करिब ९ प्रतिशतले घटेको छ। यस्तो अवस्थामा कोरोनाका मामिला बढेमा आर्थिक गतिविधि फेरि ठप्प हुने चिन्ता लगानीकर्ताहरुका अगाडि बढेको छ। 

चीनको स्टिल हब मानिने सहर एकजनामा संक्रमण देखिएपछि मात्रै तीन दिनका लागि बन्द गरिएको कोरोनाको डरको अनुमान यसबाट गर्न सकिन्छ।

मिडिया रिपोर्टअनुसार चीनमा कोरोनाको प्रकोप बढेमा फेरि लकडाउन घोषणा हुने सम्भावना बढेको छ। जसका कारण कारखानामा उत्पादन रोकिने डर छ। यसका साथै निर्माण कार्यमा पनि असर पर्ने देखिन्छ।

उता ऋणमा डुबेका चीनका निर्माण कम्पनीहरु भने समस्यामा परेका छन्। यसमा एभरग्रान्ड समूहले ऋण चुक्ता गर्न सक्नेछ भने फलामको सेयरको मूल्य सात महिनाकै न्यून विन्दुमा पुगेको छ।

अर्थतन्त्रमा मन्दीको अर्को संकेत शुक्रबार जारी गरिएको आर्थिक वृद्धिको तथ्यांकले दिएको छ। यसमा दोस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर १.२ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ। अर्थात् अर्थतन्त्रसँग सम्बन्धित सूचकहरुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा गिरावटको प्रक्रिया सुरु भएको प्रमाण दिइरहेका छन्। तर, सरकारले ५.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने विश्वास लिएको छ। –एजेन्सी