काठमाण्डौ । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले मर्मतसम्भार कार्यका कारण युरोपेली मुलुकहरुमा आफ्नो मुख्य पाइपलाइनबाट ग्यास आपूर्तिमा फेरि भारी कटौती गर्ने तयारी गरिरहेको छ। 

गाजप्रोमले नोर्ड स्ट्रिम १ पाइपलाइनमा अर्को टर्बाइन रोकेर दैनिक २० प्रतिशतले ग्यास उत्पादन घटाउने र आपूर्तिलाई हालको स्तरबाट आधामा कटौती गर्ने तयारी गरिरहेको छ। 

यसैबीच जर्मन सरकारले ग्यास आपूर्ति सीमित गर्नुमा कुनै प्राविधिक कारण नरहेको जनाएको छ। आपूर्ति कटौतीले युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रहरुका लागि जाडोयाम अघि नै ग्यास भण्डारहरु पुनः भर्न निकै कठिन हुने आशंका गरिएको छ। 

रुसबाट जर्मनीसम्म ग्यास ढुवानी गर्ने नोर्ड स्ट्रिम १ पाइपलाइन विगत केही हप्तादेखि क्षमताभन्दा कम चलिरहेको छ। यही महिना मर्मतसम्भारको कारण देखाउँदै यो पाइपलाइन १० दिनसम्म पूर्ण रुपमा बन्द गरिएको थियो।

गत वर्ष ईयूको ४० प्रतिशत ग्यास आवश्यकता रुसबाट परिपूर्ति भएको थियो। ईयूले अब रुसले ऊर्जा उत्पादनहरु हतियारका रुपमा प्रयोग गरिरहेको आरोप लगाइरहेको छ।

रुसले आपूर्ति कटौती गर्ने धम्की दिएपछि युरोपेली आयोगले देशहरुलाई आगामी सात महिनासम्म ग्यासको खपत १५ प्रतिशतले घटाउन आग्रह गरेको छ। –एजेन्सी