काठमाण्डौ । फेसबुकका प्रयोगकर्ताको संख्या २ अर्ब नजिक पुगेको छ । कम्पनीले नयाँ तथ्यांक सार्वजनिक गर्दै प्रत्येक महिना फेसबुक प्रयोग गर्नेहरुको संख्या बढिरहेको बताएको छ । घोषित तथ्यांक अनुसार हाल विश्वभरि फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ९४ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा फेसबुकको विश्वभर १ अर्ब ८६ करोड प्रयोगकर्ता थिए । एकवर्षमा फेसबुकको ८ करोड प्रयोगकर्ता थपिएका हुन् ।

यीमध्ये हरेक दिन करिब १ अर्ब ३० करोड प्रयोगकर्ताले फेसबुक चलाउने गर्छन् ।

सन् २०१७ को पहिलो त्रैमासमा फेसबुकको आम्दानी समेत वृद्धि भएको छ । यो अवधिमा फेसबुकको आम्दानी वृद्धि भई ३ अर्ब डलरको उचाईमा पुगेको छ । सन् २०१६ को यही अवधिको भन्दा फेसबुकको कमाईमा ७६ प्रतिशतको वृद्धि भएको बताइएको छ ।

तर, कम्पनीले आगामी दिनमा आफ्नो विज्ञापनबाट हुने आम्दानी भने घट्नसक्ने आँकलन गरेको छ । यस्तै, बुधबार फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक समारोहका बीच फेसबुकले कन्टेन्टलाई मोडरेट गर्नका लागि केही महिनामै ३ हजार कर्मचारी भर्ति गरिने घोषणा गरेका छन् । यी कर्मचारीले हिंसा भड्काउने र सद्भाव खलबल्याउने कन्टेन्ट र भिडियोको मनिटरिङ गर्नेछन्।