काठमाण्डौ । फेसबुकले आफ्नै मालिक मार्क जुकरबर्गलाई मृत घोषित गरिदिएको छ । विश्वकै सबैभन्दा ठुलो यो सामाजिक सञ्जालमा जुकर बर्गको मात्र होइन, अन्य २० लाख व्यक्तिको समेत मृत्यु भएको खबरले सनसनी मच्चायो । यो खबरबाट जिउँदा मानिसहरु आफ्नै मृत्युको खबर र आफ्नो फेसबुक वालमा आएको श्रद्धाञ्जली सम्बन्धी म्यासेजका कारण ठुलो हैरानीमा परे । 

तर पछि यो महाभुललाई सुधारिएको थियो । फेसबुकले यसलाई आफ्नो निकै ठुलो गल्ती भनेको छ । साथै, प्राविधिक समस्याका कारण कयौ मानिसहरुको वालमा श्रद्धाञ्जलीवाला मेसेज पोस्ट हुन पुग्यो । यो समस्यालाई पछिबाट ठीक गरिएको थियो । 

खबर अनुसार केही मानिसले जब आफ्नो फेसबुक अकाउण्ट खोले, तब त्यहाँ मार्क जुकरबर्गको मृत्युको खबर आइरहेको थियो । जुकरबर्गको फेसबुक पेजमै उनलाई मृत घोषित गरिएको थियो । जुकरबर्गको होमपेजमा मेमोरियल म्यासेज देखिइररहेको थियो । 

फेसबुकका कयौं प्रयोगकर्ताले फेसबुकको यो ठुलो गल्तीविरुद्ध सामाजिक सञ्जालमा तीखो आलोचना गरिरहेका छन् ।

फेसबुकका अनुसार यो गल्ती एउटा अनलाइन बगका कारण भएको थियो । यही कारण फेसबुकले सबैको मृत्यु घोषणा गरिरहेको थियो । 

फेसबुकमा २० लाख बढी मानिसलाई गल्तीवश फेसबुकले मृत घोषित गर्दा धेरै मानिसलाई धक्का लाग्यो । उनीहरुको बिषयमा धेरै कुराहरु बहस र चर्चा भए । कतिपयले चाहि आफु मर्ने खबरलाई नै ट्वीटमा पोस्ट गरेका थिए ।