काठमाण्डौ । सोसल मिडिया साइट फेसबुकले भारतीय कन्पनी रिलायन्स इन्डस्ट्रिजको डिजिटल प्लेटफर्म रिलायन्स जियोको ९.९९ प्रतिशत हिस्सा किनेको छ।

फेसबुकले बुधबार रिलायन्स जियोमा भारु ४३ हजार ५७४ करोड रुपैयाँ लगानी गरेको घोषणा गरेको हो। फेसबुकले यो लगानीले भारतप्रति आफूहरुको प्रतिबद्धता देखाउने जनाएको छ। ‘रिलायन्स जियो भारतमा निकै परिवर्तन ल्याएको छ, यसले हामीलाई निकै उत्साहित बनाएको छ’, फेसबुकले भनेको छ। 

स्थापनाको ४ वर्षमै रिलायन्स जियोले ३८८ मिलियन प्रयोगकर्तालाई इन्टरनेटमा जोड्न सफल भएको छ। ‘यसले नयाँ उद्यम बढाउन निकै अहम् भूमिका निर्वाह गरेको छ, साथै मानिसलाई नयाँ तरिकाबाट जोड्ने काम सफल भएको छ’, फेसबुकले उल्लेख गरेको छ।

फेसबुकले आफूहरु भारतमा जियोका माध्यमबाट मानिस एकआपसलाई जोड्ने प्रतिबद्धता जनाएका छन्। ‘भारत डिजिटल टेक्नोलोजी अपनाएर सामाजिक र आर्थिकमा तीव्रगतिमा परिवर्तनहरु आइरहेका छन्’, फेसबुले आफ्नो न्युजरुमको पान्नामा उल्लेख गरेको छ, ‘विगत ५ वर्षमा भारतले करिब ५६० मिलियन मानिसलाई इन्टरनेटको प्रयोगमा सहभागिता गराएको छ।’

यो डिल फेसबुकले भारतलाई एउटा अर्को मुकाम हासिल गर्न मद्दतगार साबित हुने बताइएको छ। साथै ती सेवाहरुको तालमेल मिलाउन पनि मौका दिइनेछ, जुन जियोले प्रदान गर्दै आएको छ। यसमा लाइभ टीभीदेखि लिएर म्युजिक स्ट्रिमिङ र भुक्तानीसम्म सामेल हुने बताइएको छ। 

अहिलेको अवस्थामा फेसबुकको उपभोक्ता भारतमा अन्य देशको तुलनामा अधिक छ। भारतमा यसको च्याट एप वाट्सएपमा ३०० मिलियनभन्दा बढी सब्सक्राइबर छन्। 

यो डिल रिलायन्स इन्डस्ट्रिजको कर्जा कम गर्न मद्दतगार हुने बताइएको छ। सन् २०२१ मार्चसम्म ‘शून्य ऋण’ भएको कम्पनी बनाउने रिलायन्सको महत्वकांक्षी योजना छ। – एजेन्सी