काठमाण्डौ । फेसबुकले फोटो र भिडियोमा मानिसको अनुहार पहिचान गर्ने ‘फेसियल रिकोग्निसन’ फिचरको प्रयोग बन्द गर्ने घोषणा गरेको छ।

यो फिचर सही छ वा गलत छ भन्ने विषयमा लगातार बहस हुँदै आएको थियो। यो फिचरले प्रयोगकर्ताको गोपनीयता कति सुरक्षित हुन्छ भन्ने विषयमा प्रश्न उठिरहेको थियो। 

कम्पनीले यो फिचरको निगरानी गर्ने नियामकहरुले यसको प्रयोगका विषयमा अहिलेसम्म कुनै स्पष्ट नियम बनाएको जनाएको छ। तर फेसबुकमा यो फिचरको प्रयोगका कारण प्रयोगकर्तामा पर्नसक्ने असरका विषयमा तीव्र आलोचना हुँदै आएको थियो। 

प्रयोगकर्ताले यो फिचरका माध्यमबाट आफ्नो अनुहार पहिचान गर्न र यदि अरु कोहीले फेसबुकमा अरुको फोटो पोस्ट गर्दा पनि फोटोमा देखिएको व्यक्तिको यसको जानकारी पुग्ने गरेको थियो। 

कम्पनीका आर्टिफिसियल इन्टेलिजेन्स युनिटका उपाध्यक्ष जेरोमी पेसेन्टीले एउटा ब्लगमा लेखेका छन्, ‘अहिले जुन अनिश्चितताको माहौल छ, यस अवस्थामा फेसियल रिकोग्निसनको प्रयोग अनुचित हुने देखिएको छ। त्यसैले यसलाई बन्द गर्ने निर्णय गरिएको हो।’ 

फेसबुकमाथि लगातार प्रयोगकर्ताका गोप्य विवरण लिक हुँदै आएको, प्रयोगकर्ताको गोपनीयता सुरक्षामा गम्भीर नभएको र कमाइमा मात्रै ध्यान दिँदै आएको आरोप लाग्दै आएको छ। – एजेन्सी