काठमाण्डौ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ ले आफ्नो दायरा फराकिलो बनाउने क्रम जारी राखेको छ । केही समयपहिले ‘फेसबुक पे’ सार्वजनिक गरेको फेसबुकले अहिले अर्काे नयाँ एप सार्वजनिक गरेको छ ।

फेसबुकले नयाँ एपमार्फत सर्भे, टास्क र रिसर्चमा भाग लिएबापत भुक्तानी दिने एप लन्च गरेको हो । यी सर्भे र टास्कमार्फत फेसबुकले आफ्नो एप र अन्य प्रोडक्टलाई अझै स्तरीय बनाउन प्रयोगकर्ताको सुझाव माग्नेछ ।

यो एपको नाम ‘फेसबुक भ्युप्वाइन्टस्’ दिइएको छ । तत्काललाई यो एप अमेरिकी फेसबुक प्रयोगकर्ताका लागिमात्रै उपलब्ध गराइएको छ ।

यो एपलाई अर्काे वर्षसम्ममा अन्य प्रयोगकर्ता र देशमा फैलाउनलाई अरू थप तरिकाहरुको खोजी भइरहेको फेसबुकले जनाएको छ । यो एपमार्फत सर्भेमा भाग लिने व्यक्तिले आफ्नो पेपाल अकाउन्टमा रकम भुक्तानी पाउनेछन् ।

भुक्तानी पाउनका लागि प्रयोगकर्ताले फेसबुकले तोकेको निश्चित अंक आर्जन गर्नुुपर्ने हुन्छ । प्रयोगकर्ताले त्यो अंक आर्जन गर्नेबित्तिकै उसको पेपाल अकाउन्टमा पैसा भुक्तानी हुुनेछ ।

यो एपमा लग इन हुनका लागि आफ्नो नाम, इमेल, ठेगाना, देश, जन्ममिति, र लिङ्ग को जानकारी दिनुपर्ने हुन्छ । फेसबुकले यसको अलावा प्रयोगकर्ताको लोकेसनजस्ता अतिरित्त जानकारी पनि माग्न सक्छ । यस्ता जानकारीहरु तेस्रो पाटीलाई नबेच्ने फेसबुुकले प्रस्ट पारेको छ । –एजेन्सी