काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको नेपालमा आधिकारिक प्रवेश भएको छ । यसको आधिकारिक घोषणा बिहीबार हुँदैछ ।

लकडाउनअघिदेखि नै फेसबुक एक परियोजनामार्फत नेपाल भित्रिए पनि त्यसको आधिकारिक घोषणा भर्खरै हुन लागेको हो ।

फेसबुकले नेपालको अग्रणी इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकसँग सहकार्य गर्न लागेको हो । 

वर्ल्डलिंकले फेसबुकसँगको आधिकारिक सहकार्यको घोषणा बिहीबार एक कार्यक्रममार्फत गर्दैछ । बिहीबार दिउँसो २ बजे भर्चुअल कार्यक्रम आयोजना गरिएको छ, जसमा फेसबुकका आधिकारिक प्रतिनिधिहरु समेत सहभागी हुने वर्ल्डलिंक कम्युनिकेसन लिमीटेडका डाइरेक्टर लक्ष्मण यादवले जानकारी दिए ।

फेसबुकले विश्वरभरका विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्याउन एक्सप्रेस वाईफाई परियोजना हालैदेखि सुरु गरेको छ । यही परियोजना नेपालमा समेत सुरु भएको हो । यो परियोजनामार्फत वर्ल्डलिंकसँगको सहकार्यमा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइका हटस्पटहरुको व्यापक बिस्तार गर्न लागिएको हो । हाल वर्ल्डलिंकले देशभर १० हजार वाइफाई हटस्पटहरु संचालन गरिरहेको छ । 

डाइरेक्टर यादवका अनुसार वर्ल्डलिंकका सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी सहकार्य भइरहेको छ । यो सफ्टवेयरका कारण नेपालमा संचालनमा रहेको निःशुल्क वाईफाई हटस्पट इन्टरनेटको गुणस्तर बढाउन मद्धत पुग्ने विश्वास गरिएको छ ।