काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। 

डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएसभी थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो। 

कम्पनीले सेवा सुरु गर्नेबित्तिकै कोभिड महामारीका कारण लामो समय लकडाउनमा बस्नु परे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो। हाल फोनपेको क्यूआरमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको छ। 

यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक १ अर्ब रुपैयाँबराबरको सेटलमेन्ट हुँदै आएको छ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ। फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो। जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।