काठमाण्डौ । इन्टरनेट सेवाको माग र ग्राहक संख्या बढिरहेको अवस्थामा एनसेलले यो वर्ष डाटा सेवामा विषेश ध्यान केन्द्रीत गर्ने स्पष्ट पारेको छ । 

एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले सो कुरा बताएका हुन् । पर्किन्सले भने–‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता हो ।’
 
अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही विषयमा बोल्दै पार्किन्सले नियामक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा सुरु गर्ने तयारीमा रहेको बताए । सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिइसकेको छ । सरकारले अनुमति दिएमा २ महिनाभित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ ।
 
केही महिना अघि एनसेलले आफ्नो सेवा ग्रामीण तथा दुर्गम स्थानमा विस्तार गर्न पूर्वाधारमा सन् २०१६ भित्र रू. १२ अर्ब लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो । अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधिमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगिसकेकोे छ ।
 
एनसेलले काठमाण्डौ उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रति सेकेण्डसम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकीकरण गर्दै लैजाने बताएको छ ।
 
अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकिकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्घि हुने कम्पनीले स्पष्ट पारेको छ । 
 
‘फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्।’ पर्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै भने । 

नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप रू. ७० अर्ब पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरिसकेको छ । 
 
यस अन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष रू ३५ अर्ब लगानी गर्नेछ । हालसम्म एनसेलले नेपालमा रु ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ । गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किने पछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो ।