काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्ड मोटरले आफ्नो दक्षिण अफ्रिाकाको उत्पादन क्षमतालाई अभिवृद्धि गर्नका लागि १.०५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ। यसमा कम्पनीको रेन्जर पिकअप ट्रकलाई अपग्रेड गर्नेदेखि लिएर यसको उत्पादन विस्तार गर्ने विषय पनि समावेश गरिएको कम्पनीले जनाएको छ। 

फोर्ड इन्टरनेसनल मार्केट गु्रपका अपरेसन डाइरेक्टर एन्ड्रिया क्याभालारोका अनुसार यो लगानीको मुख्य लक्ष्य भनेको दक्षिण अफ्रिाकामा कम्पनीको उत्पादन क्षमता १ लाख ६८ हजारबाट २ लाख युनिट पुर्याउनु रहेको छ। ‘दक्षिण अफ्रिकामा कम्पनीको ९७ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो लगानी हुनुका साथै स्थानीय अटो उद्योगको अहिले सम्मकै सबैभन्दा ठूलो लगानी हो’, लगानी घोषणा कार्यक्रममा क्याभालारोले भने। 

घोषणा गरिएको लगानीमा ६८३ मिलियन डलर प्राविधिक क्षमता विस्तार र सिल्भरटनमा रहेको कारखानामा नयाँ सुविधाहरु थप्न तथा ६५ मिलियन डलर मुख्य आपूर्ति कारखानाहरुको टुलिङ अपग्रेड गर्नका लागि खर्च गरिनेछ। विस्तारित उत्पादन क्षमताले दक्षिण अफ्रिकामा १२ सय रोजगार सिर्जना गर्नेछ। यसले कम्पनीमा स्थानीय कामदारको संख्या ५ हजार ५०० पुग्नेछ भने कम्पनीको आपूर्ति सञ्जालमा थप १० हजार नयाँ रोजगार सिर्जना गर्नेछ।  

कम्पनीले सिल्भरटनमा रहेको कारखानालाई सन् २०२४ सम्म पूर्ण रुपमा ऊर्जामा आत्मनिर्भर र कार्बन न्युट्रल बनाउने लक्ष्यसमेत लिएको क्याभालारोले बताएका छन्। – एजेन्सी