काठमाण्डौ । फोर्ड इण्डियाको प्लान्टमा उत्पादन भई भारत, नेपाल  लगायतका देशहरुमा बिक्रीवितरण भएका चार पाङ्ग्रे सवारीमा गम्भीर समस्या देखिएको छ । 

फोर्ड इण्डियाले यो तथ्य स्वीकार गर्दै शुक्रबार एयरब्याग र ब्याट्री मनिटरिङ सिस्टममा देखिएको गम्भीर कमजोरीका लागि माफी माग्दै २२ हजार ६९० कारलाई फिर्ता ल्याइने घोषणा गरेको छ । 

फोर्ड इण्डियाले आफ्ना ग्राहकहरुसँग माफी माग्दै एयरब्याग र ब्याट्री मनिटरिङ सिस्टममा खराबी देखिएको र त्यसका लागि जाँचका लागि हजारौं कारहरु फिर्ता बोलाइएको प्रष्ट पारेको हो । 

सन् २०१७ को सेप्टेम्बरदेखि २०१९ अप्रीलसम्मको अवधिमा बनाइएका कारहरु फिर्ता बोलाइएको हो । दुवै खालका समस्या रहेका कारहरु करिब ३० हजारको संख्या बिक्री भएको हुनसक्ने कम्पनीको अनुमान छ । यी सबै कारहरु फिर्ता बोलाइएको हो । 

भारतीय मिडियाहरुका अनुसार फोर्ड इण्डियाले भनेको छ कि प्रिभियस जेनेरेसन फोर्ड एण्डेभरको फ्रन्ट एयरब्यागको जाँच स्वेच्छिक हुनेछ । यी सवारी साधन भने कम्पनीको चेन्नईस्थित प्लान्टमा सन् २००४ फेब्रुअरीदेखि २०१४ सेप्टेम्बरसम्मको अवधिमा निर्माण गरिएको थियो । 

फोर्डको तर्फबाट यो पनि घोषणा गरिएको छ कि बिएमएस वायरिङको कमजोरी देखिएका सबै फ्रीस्टाइल, न्यू फिगो तथा न्यू एस्पायरको मोडलहरुमा कभर गरिनेछ । यी कारहरुको निर्माण सानन्द प्लान्टमा २०१७ सेप्टेम्बरदेखि सन् २०१९ अप्रीलको बीचमा भएको थियो । 

यो अवधिमा बनेका यी कारहरुको विषयमा ग्राहकले आफ्ना नजिकका फोर्ड डिलरसीप स्टोरमा गएर जानकारी दिनुपर्नेछ । 

नेपालमा के हुन्छ ?
फोर्ड इण्डियाले फ्रन्ट एयरब्याग र ब्याट्री मनिटरिङ सिस्टममा ‘गम्भीर खराबी’ देखिएको भन्दै ग्राहकबाट कार फिर्ता लिने घोषणा गरे पनि यो विषयमा नेपालको फोर्ड गाडीको आधिकारिक बिक्रेता भने बेखबर देखिएको छ । 

नेपालका लागि फोर्ड गाडीका आधिकारिक बिक्रेता गो फोर्ड, गो अटोमोवाइल्स प्रालिका मार्केटिङ म्यानेजर पंकज यादव र सेल्स म्यानेजर किशोर महर्जन दुवैले फोर्ड इण्डियाको घोषणाको विषयमा अनभिज्ञता प्रकट गरे । 

‘हामीमा अहिलेसम्म अफिसिएल्ली त्यस्तो कुनै नोटिस आएको छैन ।’ यादवले बिजशालासँग भने–‘नेपाल र भारतमा बिक्री हुने गाडी एउटै प्ल्याटफर्ममा बन्ने हो, उता समस्या छ भने यता पनि समस्या हुन्छ ।’