काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्सले आगामी असोज ८ गते कम्पनीको आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

भदौ १६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले असोज ८ गते बिहान ११ बजे काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारणसभा बोलाएको हो । 

वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने, कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश र त्यसपछि कायम हुन आउने चुक्तापूँजीको २ बराबर १ को अनुपात(५० प्रतिशत)को दरले हकप्रद निश्कासनको विशेष प्रस्ताव पेश हुनेछ । 

साधारणसभाले कम्पनीको हाल कायम अधिकृत, जारी र चुक्तापूँजी ३९ करोड ६७ लाखबाट वृद्धि गरी ६८ करोड ४३ लाख पुर्याउने विशेष प्रस्ताव समेत पारित गर्ने बताइएको छ । यसबाहेक संचालकको बैठक तथा भ्रमण भत्ताको पुनरावलोकन, लेखा परीक्षकको नियुक्ति लगायतको प्रस्ताव समेत पास हुनेछ ।