काठमाण्डौ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई दक्षिणपूर्वी फ्रान्सको यात्राको क्रममा एक व्यक्तिले खुलेआम झापड हानेका छन् । 

न्यूज एजेन्सी एएफपीका अनुसार यो घटनामा संलग्न २ व्यक्तिलाई हिरासतमा लिइएको छ । पक्राउ परेकाहरुसँग सोधपुछ जारी राखिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

राष्ट्रपति दक्षिणपूर्वी फ्रान्सको डोम क्षेत्रको भ्रमणको क्रममा रहेको बेला यस्तो घटना भएको हो । सो क्षेत्रमा उनले रेष्टुराँका कामदार र विद्यार्थीहरुसँग भेटेर कोभिड महामारीपछिको जनजीवन सामान्य बनेको छ कि छैन भन्ने विषयमा बुझ्ने कोशिश गरिरहेका थिए । 

भाइरल बनेको भिडियोमा म्याक्रोन सेतो रंगको सर्ट लगाएर अगाडि उभिएका मानिसहरुको भीडतर्फ गइरहेका देखिन्छन । त्यसपछि एक व्यक्तिले झापड हानेको देखिन्छ र उनले डाउन विद म्याक्रोनिया भनेको सुनिन्छ । यो घटनालगत्तै सुरक्षाकर्मीले चड्कन लगाउनेलाई तत्कालै पक्राउ गरेका थिए । 

हालै फ्रान्सेली सेनाको सेवा गर्ने एउटा समूहले इमानुएल म्याक्रोनलाई इस्लामलाई लिएर आलोचना गरेका थिए । सो समूहले इस्लाम धर्मलाई छुट दिएका कारण फ्रान्सको अस्तित्व दाउमा परेको बताएको थियो । फ्रान्सेली सेनामा सेवारत यो गुटको पत्र एक स्थानीय कन्जरभेटिभ म्यागजिन(पत्रिका)मा प्रकाशित भएको थियो ।

सो पत्रिकमा गत महिना पनि यस्तै अर्को एउटा पत्र प्रकाशित भएको थियो, जहाँ गृहयुद्धको चेतावनी दिइएको थियो । त्यसपछि फ्रान्सका गृहमन्त्रीले पत्र लेख्नेहरुलाई काँतरको संज्ञा दिएका थिए ।