काठमाण्डौ । फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार माथि पुगिसकेको छ । इमानुएल म्याक्रोन सरकारको कडा प्रतिबन्धका बाबजुद संक्रमितहरुको संख्या दैनिक रुपमा बढिरहेको छ । त्यहाँको सरकार कोरोना भाइरसबाट निम्तिएको चुनौतिको सामना डटेर गरिरहेको छ, तर, यो यूरोपीय देशमा कोरोनाको संक्रमण व्यापक रुपमा फैलिनु पछाडिको कारणतर्फ धेरैले ध्यान नै दिएका छैनन् । समाचारमा जनाइएअनुसार यसको एउटा कारण फ्रान्सकै सबैभन्दा ठूलो चर्च हो, जहाँ वार्षिक रुपमा ठूलो कार्यक्रम आयोजना हुन्छ र यो कार्यक्रम लगातार ५ दिनसम्म चल्छ । 

फ्रान्स सरकार जब निद्राबाट ब्यूँझियो, त्यसबेलासम्म यो चर्चबाट हिँडेका सयौं श्रद्धालूले यूरोप, अफ्रिका र ल्याटिन अमेरिकासम्म भाइरस पुर्याइसकेका थिए । 

पाँच दिनसम्म चल्ने धार्र्मिक कार्यक्रममा सहभागी हुनका लागि सयौं मानिस हजारौं माइलको दूरी पार गर्दै म्यूलहाउस शहर पुगेका थिए । त्यहाँ फेब्रुअरी १८ मा सुपरचर्च क्रिश्चियन ओपन डोरमा ठूलो मासकै आयोजना गरिएको थियो । जसमा सयौं मानिसको भीड जम्मा भएको थियो । मलहाउसले फ्रान्सको सीमालाई जर्मनी र स्वीट्जरल्याण्डसँग जोड्छ । 

समाचारमा जनाइएअनुसार यो धार्मिक अनुष्ठानमा कोही व्यक्ति कोरोना भाइरस संक्रमित थियो । जसबाट फ्रान्स र पूरा यूरोपमा कोरोना सुनामीको गतिमा फैलियो । स्थानीय सरकारको भनाईमा यो प्रार्थनासभा नै फ्रान्समा कोभिड १९ फैलिने सबैभन्दा मुख्य कारण बनिदियो । सरकारले भनेअनुसार फ्रान्सका २५०० संक्रमित यही प्रार्थनासभासँग जोडिन्छन् । 

केही सातापछि जर्मनीले फ्रान्ससँगको सीमा आंशिक रुपमा बन्द गरिदिएको थियो । यो निर्णयको विषयमा जानकार दुई अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका थिए कि यसको मुख्य कारण नै चर्च थियो । सो चर्चका अधिकारीहरुका अनुसार त्यहाँको प्रार्थनासभामा सहभागी १७ व्यक्तिको हालसम्म कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । 

सो चर्चमा ठूलो प्रार्थनासभाको आयोजन गरिरहँदा फ्रान्समा कोरोना संक्रमणले यति साह्रो आतंक मच्चाएको थिएन । त्यतिबेलासम्म सरकारले पनि न बारम्बार हात धून भनी नागरिकलाई सचेत गराएको थियो न त हात मिलाउन हुँदैन भनेर नै सुसूचित गर्ने काम गरिएको थियो । सो चर्चका संस्थापकका नाति जोनथनले रोयटर्ससँग भनेका छन्–‘त्यतिबेला हामीले कोभिड–१९ हामीबाट धेरै टाढा छ भन्ने सोच्थ्यौं ।’ उनका पिता समेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

फेब्रुअरी २९ मा जब चर्चसँग जोडिएको कोरोना संक्रमितको पहिलो घटना बाहिर आयो, त्यसपछि त्यहाँका अधिकारीहरुले ती व्यक्तिहरुको खोजी गरे, जो संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए । चर्चको तर्फबाट संभावित सूचि पनि दिइयो । सो दौरान सबैभन्दा पहिला सम्मेलनको क्रममा बच्चाबच्चीको सेवामा खटिएका स्टाफहरुसँग सम्पर्क गरियो । सो बेलामा मात्र त्यहाँका स्वास्थ्य अधिकारीहरुलाई महसुस भयो कि, उनीहरु धेरै ढिलो भइसकेका रहेछन् । किनभने सम्मेलनमा खटिएका केही स्टाफहरु सो बेलासम्म बिरामी भइसकेका थिए । फ्रान्सको नेशनल पब्लिक हेल्थ एजेन्सीका डाक्टर मिशेल वोर्नेले सो घटनालाई स्मरण गर्दै भनेका छन्–‘त्यसबेला हामीलाई यो महसुस भयो कि हाम्रो अगाडि त एउटा टाइम बम फिट गरिएको छ ।’

फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने यूरोपकै चौथो देश हो । यहाँ संक्रमितको संख्या ४० हजार माथि पुगिसकेको छ भने २६०० भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । त्यहाँको सरकारले लकडाउन घोषणा गरी यसको उल्लंघन गर्नेमाथि कडा सजायको नीति लिएको छ । तथापि, लकडाउनपछि पनि संक्रमितको संख्या घट्नु भन्दा बढिरहेको छ ।