काठमाण्डौ । कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नेपाली युवती चढेकी कतार एयरवेजको विमानमा दोहाबाट सँगै यात्रा गर्ने १२५ नेपालीको ठेगाना पत्ता लागेको प्रहरीले दाबी गरेको छ । 

फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीको स्वाब परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनमा कोरोना पुष्टि भएसँगै सँगै यात्रा गर्ने अन्य नेपालीहरुलाई समेत खोज्न सरकार लागि परेको हो । ती युवतीसँगै यात्रा गर्ने अन्यको खोजीमा लागेको सरकारले १५८ मध्ये १२५ नेपाली यात्रुको नाम र ठेगाना पत्ता लागेको दाबी गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अधिकारीहरुले देशका विभिन्न भागमा पुगेका ती १२५ जनाको स्वास्थ्य परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन मातहतका निकायहरुलार्य निर्देशन दिइसकिएको जनाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना पत्ता लागिसकेको छ । अन्यको पत्ता लगाउने कोशिश भइरहेको छ । 

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् ती युवती नेपाल आएकी थिइन् । सो विमानमा उनीसँगै अन्य १२५ नेपाली समेत काठमाण्डौमा अवतरण गरेका थिए । 

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् काठमाण्डौ आएकी थिइन । 

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयले जनाएको छ । सो कार्यालयका अधिकारीहरुले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपि प्रहरीलाई बुझाइसकिएको जनाएका छन् । 

सोही जहाजमा यात्रा गर्ने केही यात्रुहरु भने आफैं प्रहरीको सम्पर्कमा आएका छन् । यसरी सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।