काठमाण्डौ । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवती सवार जहाजमा सँगै यात्रा गर्नेमध्ये ३३ जना नेपालीमा कोभिड १९ को संक्रमण नदेखिएको प्रहरीले दाबी गरेको छ । 

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले यस्तो दाबी गरेका हुन् । 

चैत ४ गते फ्रान्सबाट कतार हुँदै करता एयरवेजको विमानमा आएकी १९ वर्षीया युवतीलाई कोभिड पोजिटिभ देखिएपछि हाल टेकू अस्पतालको आइसोलेसनमा उपचार जारी राखिएको छ । 

ती युवतीसँगै जहाजमा यात्रा गर्ने नेपालीहरुलाई प्रहरीले खोजी गरेको थियो । तीमध्ये प्रदेश २ का ३३ लाई खोजी गरी उनीहरुको ज्वरो, रगत र खकार परीक्षण गरिएको थियो । सो क्रममा एकजनालाई ज्वरो आएपछि उनलाई परीक्षणका लागि काठमाण्डौका टेकु पठाइएको थियो । टेकू पठाइएका रिपोर्ट आउन बाँकी रहे पनि बाँकीमा संक्रमण नदेखिएको अस्पतालको रिपोर्टलाई उद्धृत गर्दै डीआइजीले दाबी गरेका छन् । 

नेगेटिभ रिपोर्ट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ ।