काठमाण्डौ । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय युवती सवार जहाजकै अर्की यात्रु २२ वर्षीया युवतीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

उनी बेल्जियमबाट कतार हुँदै काठमाण्डौ आएकी थिइन् । 

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेहरुको संख्या ५ पुगेको छ । तीमध्ये एक उपचारपछि घर फर्किसकेका छन् भने २ को टेकूस्थित अस्पतालमा, दुबईबाट फर्किएका धनगढीका युवाको सेती प्रादेशिक अस्पतालका आइसोलेसनमा राखिएको छ । 

पाँचौ संक्रमित बागलुङकी हुन् । फ्रान्सबाट कतार हुँदै काठमाण्डौ आएकी १९ वर्षीय युवतीसँगै यी २२ वर्षे पनि कतारबाट एउटै विमानको सँगैको सिटमा बसेर आएकी थिइन् । 

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानको सँगैको सिटमा उनीहरु बसेका प्रारम्भिक जाँचबुझको क्रममा पत्ता लागेको बागलुङ प्रहरीले जनाएको छ ।

सोही विमानमार्फत  १५८ जनाले काठमाण्डौसम्मको यात्रा गरेका थिए । यात्रारतमध्ये अधिकांशको पहिचान भइसकेको छ र अधिकांशलाई क्वारेन्टाइनमा राखिसकिएको छ । क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशको स्वास्थ्य परीक्षण पनि भइसके पनि धेरैको रिपोर्ट नेगेटिभ आएको छ । 

पाँचौ संक्रमितको रुपमा अगाडि आएकी युवतीको धौलागिरी अस्पतालमा नमूना परीक्षण गरी काठमाण्डौ पठाइएको थियो । नमूना संकलनपछि पनि उनी घरमै गएर बसेकी थिइन् । सो क्रममा उनले आफन्त, साथीभाई र छरछिमेक भेटेकी बताइएको छ ।

ती २२ वर्षीया युवतीलाई काठमाण्डौ ल्याउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।