काठमाण्डौ । नेपालमा कोरोनाबाट संक्रमित छैठौ व्यक्ति समेत फेला परेका छन् । 

छैठौ संक्रमित पनि दोहाबाट चैत ४ गते नेपाल आएको कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा चढेका व्यक्ति रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । 

यो फ्लाइटमै यात्रा गर्ने अन्य २ जनालाई समेत यसअघि कोरोना संक्रमण फेला परेको थियो । 

यो फ्लाइटमा यात्रा गर्ने फ्रान्सकी एक १९ वर्षीया युवतीमा कोरोना संक्रमित फेला परेको थियो । त्यसपछि उनीसँगै यात्रा गर्ने अर्की युवतीमा समेत कोरोना संक्रमण भेटिएको थियो ।

सरकारले सो फ्लाइटमा यात्रा गर्नेहरुको खोजी गरी उनीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा सोही फ्लाइटबाट यात्रा गर्ने तेश्रो व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएको डा. देवकोटाले जानकारी दिए । 

संक्रमितको विषय अन्य विस्तृत जानकारी मन्त्रालयले सार्वजनिक गरेको छैन ।