काठमाण्डौ । फ्रान्समा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण व्यापक फैलिन थालेपछि कडा प्रतिबन्धको घोषणा गरिएको छ। 

ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले आउँदो जनवरी ३ देखि लागू हुने कडा प्रतिबन्धको घोषणा गरेको हो। योसँगै फ्रान्समा रिमोट वर्किङ अनिवार्य गरिएको छ। यो ती मानिसलाई लागू हुनेछ, जो रिमोट वर्किङ गर्न सक्छन्। 

त्यस्तै इनडोर कार्यक्रमका लागि सार्वजनिक सभामा २ हजारसम्म सहभागी हुनेछन्। आउटडोर कार्यक्रममा भने ५ हजारभन्दा बढी सहभागी हुन नपाउने नियम लगाइएको छ। 

अर्को आदेश नआउँदासम्म नाइट क्लब बन्द गर्न भनिएको छ। क्याफे तथा बारमा केवल टेबल सर्भिस दिने सकिने अनुमति दिइएको छ। 

कर्मचारीहरुलाई सातामा कम से कम ३ दिन घरबाटै काम गर्नुपर्नेछ। सहरमा घुम्दा मास्क अनिवार्य लगाउनुपर्नेछ। 

फ्रान्समा शनिबार १ लाख बढी नयाँ संक्रमित फेला परेका छन्। महामारी सुरु भएयता फ्रान्समा एकैदिन यति धेरैमा संक्रमण पुष्टि भएको पहिलोपटक हो। 

यद्यपि फ्रान्स सरकारले नयाँ वर्षको पूर्वसन्ध्यामा करफ्र्यु नलगाउने निर्णय लिएको छ। 

यसैगरी फ्रान्स सरकारले ४ महिनापछि बुस्टर डोज लगाउने योजनालाई छोट्याउँदै ३ महिनापछि नै लगाउन सुरु गर्ने निर्णय गरेको छ।

फ्रान्स सरकारले भ्याक्सिन पास बनाउने तयारी पनि गरिरहेको छ। त्यसपछि सार्वजनिक स्थानमा जाँदा भ्याक्सिनको प्रमाणको आवश्यकता हुनेछ। भ्याक्सिन पास आउँदो जनवरी १५ बाट लागू गर्ने योजनामा फ्रान्स सरकार रहेको छ। – एजेन्सी