काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भन्ने कुरा पुष्टि हुन नसकेको जनाएको छ।

प्राधिकरणले आज एउटा ट्विट गर्दै यस्तो जानकारी गराएको हो। विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले स्पष्ट पारेको छ। 

सोमबार साँझ काठमाण्डौबाट दुबईका लागि उडेको फ्लाई दुबईले जहाजमा चरा ठोक्किएको हुन सक्ने भन्दै यसअघि प्राधिकरणले ट्विट गरेको थियो। यद्यपि, मंगलबार प्राधिरकणले यसको पुष्टि हुन नसकेको जनाएको छ।

फ्लाई दुबईको एफजेड५७६ जहाजका पाइलटले असामान्य अवस्थाबारे जानकारी गराउँदै काठमाण्डौमा अवतरण गराउन चाहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी गराएका थिए। त्यसपछि प्राधिकरणले सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो।

पछि पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए। अब यस विषयमा कम्पनीले नै जहाजमा देखिएको समस्याका विषयमा जानकारी गराउने प्राधिकरणले जनाएको छ।