काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा एयरलायन्स कम्पनीलाई बक्यौता रकम बुझाउन समयसीमा तोकेको छ। 

प्राधिकरणले आज सोमबार एक सूचना प्रकाशित गरी ती कम्पनीहरुलाई अबको ३० दिनेभित्र बक्यौता रकम बुझान समयसीमा तोकेको हो। प्राधिकरणलाई बक्यौता रकम बुझाउन बाँकी रहेका एयरलायन्स कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज छन्। 

यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा बक्यौता रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्न तथा उल्लेखित बक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुष्ट्याइसहित पेस गरी हिसाब मिलान गर्न प्राधिकरणको सूचनामा उल्लेख छ। तोकिएको समयसीमाभित्र बक्याता रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गर्ने तथा भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको कामकारबाही तथा व्यापारव्यवसायमा सहभागीहुन नपाउने गरी कालोसूचीमा राखिने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणलाई सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरले बुझाउन बाँकी रहेको छ। यो कम्पनीको बक्यौता रकम ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ रहेको छ। 

यसैगरी शिवानी एयरले ५५ करोड ५१ लाख ५३ रुपैयाँ, अल्पाइन एयरले ७२ हजार ७२८ रुपैयाँ, गोरखा एयरले २० लाख ३५ हजार २९ रुपैयाँ, कर्णाली एयरले १७ लाख ४६ हजार ३०० रुपैयाँ र माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ। 

त्यस्तै प्राधिकरणलाई कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ, सांग्रिला एयरले १५ लाख ३७ हजार ८०० रुपैयाँ, स्काईलाइन एयरवेजले १५ लाख ५० हजार ४०० रुपैयाँ, एयर काष्ठमण्डले ७ लाख ३८ हजार ४४७ रुपैयाँ र नेपाल एयरवेजले ५ लाख ५० हजार ५४ रुपैयाँ बुझाउन बाँकी रहेको सूचनामा उल्लेख छ।