काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै ती वायुसेवा कम्पनीमाथि कारबाहीको चेतावनी दिएको हो। प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई ३ पटकसम्म पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरुमाथि कारबाही गर्ने तयारी गरेको हो। 

प्राधिकरणले यी कम्पनीहरुलाई बक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी ३ पटक सार्वजनिक सूचना प्रकाशित गरेको थियो। प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिनभित्र बक्यौता तिर्न समयसीमा दिइएको छ। 

तोकिएको समयसीमाभित्र बक्यौता तिर्न नआए ती कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरुको बैंक खातादेखि राहदानीसम्म रोक्का गरिने चेतावनी प्राधिकरणले दिएको छ। 

प्राधिकरणका अनुसार नेकोन, शिवानी, गोरखा, माउन्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी छ। 

नेकोनका सञ्चालकहरु दीपमणी राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ। शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

त्यस्तै माउन्टेन एयरका सञ्चालकहरु प्रज्ञानशमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्र बहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ, कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ र स्काइलाइन एयरवेजका सञ्चालकहरु आंग छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्लव श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ।