काठमाण्डौ । सन् २०२१ को विश्वको सबैभन्दा ठूलो डेब्यू चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ ले बक्स अफिसमा रेकर्ड बनाएको छ। 

कोरोना महामारीका कारण लामो समय शिथिल बनेको चलचित्र बजारमा यो हलिउड चलचित्रले टिकट बिक्रीबाटै ओपनिङमा २५३ मिलियन डलर कमाएको छ । यससँगै यो चलचित्र ‘एभेन्जरः इन्ड गेम र एभेन्जरः इन्फिनिटी वार’ पछिको अहिलेसम्मकै तेस्रो ‘वेस्ट ओपनिङ’ चलचित्र बन्न सफल भएको छ ।  

मार्भलको नो वे होमको ओपनिङ इन्फिनिटी वारको भन्दा खासै कम छैन । सन् २०१८ मा रिलिज भएको इन्फिनिटी वारको ओपनिङ आम्दानी २५७.६ मिलियन डलर थियो । 

विश्वको अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ आम्दानी गर्ने चलचित्र एभेन्जरः इन्ड गेम’ हो । जसको ओपनिङ आम्दानी ३५७.१मिलियन डलर रहेको छ । 

अनलाइनमा लिक हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ‘नो वे होम’ हेर्न गत शुक्रबार दर्शकहरु चलचित्र हलमा ओइरिएका थिए । बिहीबारको नाइट प्रिभ्यू शोबाट उठेको ५० मिलियन डलरसहित शुक्रबारको टिकट बिक्रीबाट चलचित्रले १२१.५ मिलियन आम्दानी गरेको थियो । शनिबार चलचित्रले टिकट बिक्रीबाट ७३.८ मिलियन डलर र आइतबार ५७.३ मिलियन आम्दानी गरेको सोनिले जनाएको छ ।    

यस्तै ६० वटा ओभरसिज बजारबाट यो चलचित्रले ३३४.२ मिलियन डलर कमाएको छ । – एजेन्सी