काठमाण्डौ ।  एनआईसी एशिया बैंकले निक्षेप योजनामा सर्वाधिक फाइदाहरूले भरिपूर्ण “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ ।

यस बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिएको बैंकले जनाएको छ । 

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूका लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । 

औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग(ओपिडी) उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्नाबापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ । 

एनआइसी एशिया बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले मन पराएका उल्लेख गर्दै बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको बैैंकको प्रष्टीकरण छ । 

सोही बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहकहरूले बीमाबापतको रू.३ करोड ८५ लाख भन्दा बढी रकम पनि प्राप्त गरिसकेका बैंकले जनाएको छ । 

बैंकको यस बचत खाताले ग्राहकको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यका लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्नसक्नेछन् । 

बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ । जसअन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ, यस्तो फाइदा नेपालको बैंकिङ्ग इतिहासमै सम्भवतः पहिलो हो । यसका साथै सर्वश्रेष्ठ बचत खातामा रू.५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट लगायतका फाइदाहरू रहेका छन् । 

साथै सर्वश्रेष्ठ बचत खातामा आकर्षक स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ ।  जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा रू २००,००० भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रू १०,००० ले गुणा गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १०.१० प्रतिशतसम्मको ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ ।

ग्राहकहरूले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेस्डर, प्राइड र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरूमध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइनमार्फत वा नजिकैको शाखा कार्यालयमार्फत खोल्न सकिने व्यवस्था गरिएको छ । यी तीनै श्रेणीका खाताहरूमा वार्षिक ८.१० प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेस्डर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिनेछ । गुडविल एम्बेस्डर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एकपटक खाता खोलिसकेपछि ग्राहकले न्यूनतम रू. ३ लाख ३६ हजारभन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ । 

सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत ५५ वर्ष पुगेकाले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने व्यवस्था गरिएको छ । सर्वश्रेष्ठ बचत योजनाअन्तर्गत माथि उल्लेखित बाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् ।

सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक ११.१० प्रतिशतसम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ११.१० प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ । 

ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनुपर्ने र स्थानान्तरण गरिने रकम रू ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू ५००, रू १०००, रू १५०० आदिको अनुपातमा) तय गर्नुपर्ने व्यवस्था गरिएको छ । मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहकले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले सार्वजनिक गरेको यस सर्वश्रेष्ठ बचत खाता योजनाबाट मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।